काठमाडौँ / स्पेनिस ला लिगामा आज बिहान सम्पन्न खेलमा घरेलु टोली एटलेटिको मड्रिडले गेटाफेमाथि ४–३ को रोमाञ्चक जित हात पारेको छ । ​स्टेडियो वान्डा मेट्रोपोलिटानोमा एटलेटिकोलाई जित दिलाउन एन्जल कोरेआले दुई तथा म्याथ्युज कुन्हा र मारियो हर्मोसोले गोल गरे ।

गेटाफेका इनेस युनालले दुई तथा बोर्जा मायोरलले एक गोल गरे । खेलको नवौं मिनेटमा लुइस स्वारेज पेनाल्टीमा चुक्दा एटलेटिको अग्रता लिन चुकेको थियो । १९ औं मिनेटमा कोरेआले गोल गर्दै एट्लेटिकोलाई अग्रता दिलाए । २७ औं मिनेटमा कुन्हाले टोलीको अग्रता दोब्बर बनाए ।

OM Sai Pathibhara Hospital

३० औं मिनेटमा मायोरलले गोल गर्दै खेललाई २–१ को अवस्थामा ल्याए । ३७ औं  र ४२ औं मिनेटमा युनालले पेनाल्टीमार्फत गोल गरेपछि घरेलु टोली ३–२ ले पछि पार्‍यो ।

पहिलो हाफको थप गरिएको समयमा कोरेआले व्यक्तिगत दोस्रो तथा टोलीको लागि तेस्रो गोल गर्दै खेललाई ३–३ गोलको बराबरीमा ल्याए ।
मोउरो एरामवारीमाथि अनावश्यक फउल गरेपछि फिलिपेले सिधै रातो कार्ड खाँदै मैदान छाडेपछि ५८ औं मिनेटमा एटलेटिको १० खेलाडीमा सीमित बन्यो ।

८९ औं मिनेटमा हर्मोसोले गोल गर्दै घरेलु टोलीलाई ४–३ को रोमाञ्चक जित दिलाए । जितसँगै एटलेटिको २३ खेलमा ३९ अङ्कका साथ चौथो स्थानमा उक्लँदा पराजित गेटाफे २४ खेलबाट २५ अङ्क जोडेर १५ औं स्थानमा छ ।

लिगअन्तर्गत नै भएका अन्य खेलमा ओसासुनाले रायो भालेकानोलाई ३–० ले हराउँदा रियल मड्रिडले भिल्लारियल तथा काडिजले सेन्टा भिगोसँग गोल रहित बराबरी खेले ।