एजेन्सी / इंग्लिस प्रिमियर लिग फुटबलमा लिभरपुल र आर्सनल विजयी भएका छन् । लिभरपुलले आफ्नो पछिल्लो खेलमा लेस्टर सिटीमाथि २–० को जित निकालेको हो । घरेलु मैदान एनफिल्डमा लिभरपुलको जितमा दुबै गोल डिएगो जोटाले गरेका थिए । उनले ३४ औं र ८७ औं मिनेटमा गोल गरेका थिए । जितसँगै दोस्रो स्थानको लिभरपुलले २३ खेलबाट ५१ अङ्क जोडेको छ ।

उता अर्को खेलमा आर्सनलले उल्फ्सलाई १–० ले हरायो । अवे मैदानमा आर्सनलका लागि २५ औं मिनेटमा गेबरियलले गरेको गोल नै निर्णायक रह्यो । त्यस्तै ६९ औं मिनेटमा मार्टिनेलीले रेड कार्ड पाएपछि आर्सनल दश खेलाडीमा सीमित भएको थियो । जितसँगै आर्सनल २२ खेलबाट ३९ अङ्क जोड्दै पाँचौ स्थानमा उक्लिएको छ । शीर्ष स्थानको म्यानचेष्टर सिटीको २४ खेलबाट ६० अङ्क छ ।