काठमाडौं  / नेकपा (माओवादी केन्द्र) को केन्द्रीय समिति बैठक अनिश्चितकालका लागि स्थगित भएको छ ।

माघ २८ र २९ गते प्रज्ञा भवनमा बस्ने भनिएको बैठक विशेष कारणवश अर्को सूचना नभएसम्मका लागि स्थगित भएको माओवादी केन्द्रीय कार्यालयका मुख्यसचिव श्रीराम ढकालले जानकारी दिए ।

OM Sai Pathibhara Hospital

पार्टी कमिटीलाई पूर्णता दिन, स्थानीय तह निर्वाचन तयारीलगायत एजेन्डामा छलफलका लागि भन्दै बैठक बोलाइएको थियो ।

माओवादीको विधानमा एक अध्यक्ष, एक वरिष्ठ उपाध्यक्ष, छ उपाध्यक्ष, एक महासचिव, दुई उपमहासचिव, तीन सचिव तथा एक कोषाध्यक्ष गरी १५ सदस्यीय पदाधिकारी हुने व्यवस्था छ ।

विशेषगरी पदाधिकारी चयनमा माओवादीभित्र सन्तुलन मिल्न नसक्दा समस्या देखिएको छ । महासचिवमा प्रचण्डका विश्वासपात्र मानिने जनार्दन शर्मा र वर्षमानले नै दावी गरेपछि प्रचण्डलाई दुबै नेतालाई मिलाउन सकस देखिएको छ ।

पुस तेस्रो साता आठौँ राष्ट्रिय महाधिवेशन सम्पन्न गरेको माओवादीको केन्द्रीय समिति बैठक विभिन्न कारणबाट सर्दै आएको थियो । बैठक सरेपछि माओवादीले पदाधिकारी चयन गर्न सकेको छैन । महाधिवेशन सम्पन्न भएपछि बसेको पहिलो बैठकले पार्टी अध्यक्षमा प्रचण्डलाई सर्वसम्मत चयन गरेको थियो ।

पार्टी पदाधिकारीको टुङ्गो लगाउन भन्दै गत पुस २५ गते बैठक बोलाइएको भए पनि पार्टी केन्द्रीय कार्यालयमा कार्यरत कर्मचारी र केन्द्रीय नेतामा कोरोना सङ्क्रमण देखिएपछि बैठक स्थगन भएको थियो । यस्तै पुस माघ ८ गते पनि बैठक बोलाएर स्थगित भएको थियो ।