काठमाडौं  /  लोकतान्त्रिक समाजवादी पार्टी नेपाल (लोसपा)ले कार्यकाल नसकिएका स्थानीय तहको निर्वाचन रोक्न आग्रह गरेको छ । स्थानीय तहका पदाधिकारीको कार्यकाल नसकिँदै स्थानीय तहको निर्वाचन गराउन लागेकोप्रति आपत्ति जनाउँदै उसले सरकारको ध्यानाकर्षण गराएको हो ।

लोसपा नेपाल मधेश प्रदेशका अध्यक्ष जितेन्द्र सोनलले बुधबार एक विज्ञप्ति जारी गरी स्थानीय तहको पदाधिकारीको पाँच वर्षको पदावधि संविधानको धारा २ सय १५ को ६, २ सय १६ को ६ र २ सय २० को ५ अनुसार हुने भनिएको र कुनै निर्वाचित पदाधिकारीको कार्यकाल एकदिन पनि तलमाथि गरिनु संविधानको मर्म र भावना विपरित हुने उल्लेख गरेका छन् ।

OM Sai Pathibhara Hospital

स्थानीय तहको निर्वाचन तीन चरणमा भएको थियो । पहिलो चरणमा २०७४ बैशाख ३१ गते, दोस्रो चरण असार १४ गते र तेस्रो चरण असोज २ गते भएको थियो ।

बैैशाख ३१ गते भएको पहिलो चरण निर्वाचन संविधान अनुसार नै भइरहेपनि असार १४ र असोज २ गते भएको तेस्रो चरणको चुनावभन्दा अहिलेको निर्वाचन डेढदेखि ६ महिना अगाडि नै भइरहेको छ । असोज २ गते निर्वाचित भएका पदाधिकारीको म्याद पाँच वर्ष पुग्न ६ महिना बाँकी नै रहँदा चुनाव हुनु न्याय संगत नभएको अध्यक्ष सोनलको भनाइ रहेको छ ।

स्थानीय निर्वाचन घोषणा हुनु सकारात्मक रहेपनि संविधानअनुसार सबै चल्नुपर्नेमा उनको जोड रहेको छ ।