काठमाडौं  / राष्ट्रपति विद्यादेवी भण्डारीले संघीयता कार्यान्वयन गर्ने क्रममा स्थानीय, प्रदेश र केन्द्रलाई समन्वय गर्न राष्ट्रिय सभाको भूमिका महत्वपूर्ण रहेको उल्लेख गरेकी छन्।

राष्ट्रपति भवन शीतल निवासमा आज आयोजित विशेष समारोहमा ‘संसदमा समिति प्रणाली राष्ट्रिय सभा विशेष’ पुस्तकको विमोचन गर्दै राष्ट्रपति भण्डारीले संविधान कार्यान्वयनमा राष्ट्रिय सभाले परिपक्वता देखाउनाका साथै आफ्नो महत्वलाई स्थापित गर्न सकेकामा धन्यवादसमेत दिइन्। 

OM Sai Pathibhara Hospital

उनले लोकतन्त्रलाई बलियो बनाउन अर्थतन्त्र बलियो हुनुपर्नेमा जोड दिँदै देशको अर्थतन्त्रलाई बलियो बनाउन सम्बन्धित निकायहरूदेखि प्रत्येक नागरिकले पनि आफ्नो जिम्मेवारी निर्वाह गर्नुपर्ने आवश्यकता औंल्याइन्। राष्ट्रपतिले भनिन्, ‘देशको सर्वोपरि हितलाई ध्यानमा राखेर संसद्ले काम गर्नुपर्दछ। यसमा सांसदको भूमिका महत्वपूर्ण हुनेछ।’

संविधानले निर्दिष्ट गरेबमोजिम नै आफूले संविधानको अक्षरशः पालना गर्दै आएको उल्लेख गर्दै राष्ट्रपतिले संवैधानिक अङ्गहरूले बुझाएका प्रतिवेदनहरूमाथि संसद्मा विस्तृत छलफल गर्ने र सम्बन्धित निकायहरूले पनि तिनको कार्यान्वयन गर्ने परिपाटीलाई बलियो बनाउन आवश्यक रहेको बताइन्। 

संसद सचिवालले ‘संसदमा समिति प्रणालीस् राष्ट्रिय सभा विशेष’ पुस्तक प्रकाशन गरेर संसदीय गतिविधिहरूको अभिलेखीकरणमा योगदान दिएको र यस्ता प्रकाशनहरूलाई निरन्तरता दिनुपर्ने खाँचो रहेको राष्ट्रपतिले औंल्याइन्।

देशको अवस्था राम्रोसँग बुझेको व्यक्तिले नै संसदमा प्रभावकारी भूमिका निर्वाह खेल्नसक्ने बताउँदै उनले अध्ययन, अनुसन्धानले यसमा सहयोग पुग्ने हुँदा पठनीय संस्कृतिलाई बढाउन संसद सचिवालयले संसदीय गतिविधिसम्बन्धी पुस्तक प्रकाशनलाई महत्व दिनुपर्ने धारणा राखिन्।

आफूले लामो समयसम्म संसदमा रहेर धेरै अनुभव हासिल गरेको प्रसङ्ग उल्लेख गर्दै राष्ट्रपति भण्डारीले संसदमा सांसदले बोलेका कुराहरूको प्रकाशनले आम जनताले आफ्ना प्रतिनिधिहरूका बारेमा जानकारी राख्न सक्ने र यसले संसद्प्रतिको आस्था बढेर जाने विश्वास व्यक्त गरिन्।