काठमाडौँ /अखिल नेपाल फुटबल सङ्घ (एन्फा) ले आगामी जेठ १५ गतेका लागि तय भएको नयाँ नेतृत्व निर्वाचनका लागि निर्वाचन कमिटी गठन गरेको छ ।

सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा बिहीबार बसेको एन्फाको १६ औँ कार्यसमिति बैठकले निर्वाचन समितिको अधिवक्ता श्रीराम दवाडीको संयोजकत्वमा पाँच सदस्यीय निर्वाचन समिति गठन गरेको हो ।

OM Sai Pathibhara Hospital

त्यसैगरी सहसंयोजकमा अधिवक्ता रामचन्द्र गौतम, सदस्यमा दामोदर भट्टराई र वैकल्पिक सदस्यमा सरस्वती श्रेष्ठ र प्रीति कार्की रहेकी छिन् । निर्वाचन समितिमा मनोनयन गर्न सङ्घको २० औँ विशेष साधारणसभा बैठकमा निर्णयार्थ पेश गर्ने निर्णय गरेको छ ।

यसैगरी निर्वाचन पुनरावेदन समितिको संयोजकमा अधिवक्ता विष्णु लुइँटेल र सहसंयोजकमा सुधा रिजाल, सदस्यमा केशवमणि अर्याल, वैकल्पिक सदस्यमा यज्ञबहादुर राना र राजेन्द्र इंगनाम रहेका छन । उनीहरूको इन्ट्रीग्रिटी जाँच एन्फा लेखापालन तथा अनुपालक समितिले गर्नेछ । यस निर्णयपछि फिफा र एएफसीमा पठाइनेछ ।

त्यस्तै बैठकले आर्थिक वर्ष २०७७/७८ मा १९ औँ वार्षिक साधारणसभाबाट अनुमोदित वार्षिक कार्यक्रम विश्वव्यापी रूपमा फैलिएको कोरोना भाइरसको महामारीले स्थगन भएको हुँदा उक्त अनुमोदित बजेटलाई २०७८/७९ को आर्थिक वर्षभित्र रकमान्तर गरी खर्च गर्ने निर्णय गरेको छ ।