एजेन्सी / भारत यू १९ विश्वकपको फाइनलमा प्रवेश गरेको छ । गएराति भएको खेलमा अष्ट्रेलियालाई ९६ रनले पराजित गर्दै भारत आठौं पटक फाइनलमा पुगेको हो ।

२ सय ९१ रनको विजयी लक्ष्य पछ्याएको अष्ट्रेलिया १ सय ९४ रनमा अल आउट भयो । अष्ट्रेलियाका लागि लचलान शाले सर्वाधिक ५१ रन बनाए । कोरे मिलर ३८, क्याम्पबेल केल्लावेले ३०, ज्याक सिनफिल्ड २० र टम ह्टनीले १९ रन बनाए ।

OM Sai Pathibhara Hospital

भारतका अफस्पिनर विक्की ओस्टलले तीन,निशान्त सिन्धु र रवि कुमारले दुई – दुई विकेट लिए ।

त्यसअघि टस जितेर पहिला ब्याटिङ रोजेको भारतले निर्धारित ५० ओभरमा ५ विकेट गुमाउँदै २ सय ९० रन बनाएको थियो ।

भारतका कप्तान यश धुलले १ सय १० रनको शतकीय इनिङ खेले । शेख राशिद १ सय ८ बलमा ८ चौका र १ छक्कासहित ९४ रनमा आउट भए ।दिनेश २० रनमा अविजित रहे ।

अब उपाधिको लागि भारतले शनिबार इङ्ग्ल्यान्डसँग खेल्नेछ ।