काठमाडौं  / प्राविधिक शिक्षा तथा व्यवसायिक तालिम परिषद् (सीटीईभीटी)को परीक्षा फागुन छ गते देखि पुनः सञ्चालन हुने भएको छ । 

आज सीटीईभीटीको परीक्षा नियन्त्रण कार्यालयले एक सूचना जारी गरेर कोरोना भाइरसको तिव्र संक्रमणका कारण स्थगित गरिएका सम्पूर्ण परीक्षाहरू फागुन ६ गतेदेखि पुनः सञ्चालन हुने जानकारी दिएको हो ।

OM Sai Pathibhara Hospital

परिषद्का आंगिक, साझेदारी, सामुदायिक विद्यालय र निजीस्तरमा सञ्चालित शिक्षण संस्थाहरुका प्रमाणपत्र तह नर्सिङ, सामान्य चिकित्सा, मेडिकल ल्याब टेक्नोलोजी, रेडियोग्राफीलगायत विभिन्न कार्यक्रमहरूको प्रथम वर्ष दोस्रो खण्डका र तेस्रो वर्षको नियमित तथा आंशिकको परीक्षा फागुन ६ गतेदेखि हुने समय तालिका सीटीईभीटीको परीक्षा नियन्त्रण कार्यालयले सार्वजनिक गरेको छ ।

साथै डिप्लोमा इन इन्जिनियरिङका कार्यक्रमहरू, होटल म्यानेजमेन्ट, फुड एन्ड डेरी टेक्नोलोजी, सोसियल वर्क्स लगायतका कार्यक्रमहरू प्रथम वर्ष दोस्रो खण्डका नियमित तथा आंशिक परीक्षाहरु फागुन ६ गते बिहान ७ बजेदेखि हुने परिषद् परीक्षा नियन्त्रण कार्यलयले जनाएको छ ।

परिषद् नियन्त्रण कार्यलयले विशेष प्राविधिक शिक्षा छात्रवृत्ति कार्यक्रम (दलित, मुस्लिम लोपोन्मुख जाति तथा भूकम्प प्रभावित) अन्तर्गतको परीक्षा फागुन ८ गतेदेखि हुने जनाएको छ ।