काठमाडौँ  / आज माघ १९ अर्थात् तत्कालीन राजा ज्ञानेन्द्र शाहले शासकीय महत्वाकांक्षाले शासन हातमा लिएको दिन । यो दिनलाई नेपालको प्रजातान्त्रिक आन्दोलनमा कालो दिनको रुपमा लिने गरिएको छ ।

२०६१ साल माघ १९ गते प्रजातान्त्रिक व्यवस्थालाई क्रियाशील तुल्याउने भन्दै पूर्वराजा शाहले शाही सम्बोधन मार्फत शासनसत्ता आफ्नो नियन्त्रणमा लिएका थिए ।

OM Sai Pathibhara Hospital

पूर्वराजा शाहले तत्कालीन प्रधानमन्त्री शेरबहादुर देउवालाई अपदस्थ गरी आफ्नै अध्यक्षतामा मन्त्रिमण्डल गठन गरेका थिए । १७ वर्षपछि अहिले उनै देउवाले सरकारको नेतृत्व गरिरहेका छन् ।

दरबार हत्याकाण्ड लगत्तै राजा बन्न पुगेका शाहले मुलुकमा राजनीतिक अधिकार, मानवअधिकार तथा प्रेस स्वतन्त्रता कुण्ठित गरेर मोबाइल र टेलिफोन लाइनसमेत बन्द गराएका थिए।

संविधान प्रदत नागरिकका मौलिक अधिकार निलम्बन गरी राजा ज्ञानेन्द्रले प्रमुख राजनीतिक दलका नेताहरुलाई पक्राउ गर्दै नजरबन्दमा राखेका थिए। सञ्चारमाध्यमहरुमा समेत सेना खटाएर नियन्त्रण गरिएको थियो ।

ज्ञानेन्द्र शाहको यही कदमले सात राजनीतिक दल र तत्कालीन विद्रोही माओवादीबीच दिल्लीमा १२ बुँदे सहमति सम्पन्न भई जनआन्दोलन भयो । अन्ततः २०६२ चैत २४ गते शुरु भई २०६३ बैशाख ११ सम्म चलेको १९ दिने आन्दोलनको बलमा राजा ज्ञानेन्द्र संसद पुनर्स्थापना गर्न बाध्य भए ।

राजा आफैंले पुनर्स्थापना गरेको संसदले राजतन्त्रका सम्पूर्ण अधिकार छिन्दै अन्ततः २०६४ सालमा सम्पन्न संविधानसभाको पहिलो बैठकले मुलुकबाट राजतन्त्रको अन्त्यको घोषणा गर्‍यो । त्यसपछि संविधानसभामार्फत संविधान बनाएर देश संघीय संरचनाको अभ्यासमा गएको छ ।

तर अझै पनि परिवर्तन संस्थागत गर्न दल र नेताको भूमिका राम्रो हुन नसकेको भन्दै नागरिकले चिन्ता व्यक्त गर्ने गरेका छन् ।