बिर्तामोड/ राजनीतिक संरक्षणमा सर्वसाधारणको अर्बौ रुपैयाँ ठगी गरेका एमालेका पूर्व सांसद एवं सिभिल समूहका अध्यक्ष इच्छाराज तामाङसँगको शंकास्पद सम्बन्धका कारण देशको ठूलो वाणिज्य बैंक प्रभु बैंक पनि अनुसन्धानको घेरामा तानिएको छ ।

एमाले सत्ताच्युत भएसँगै कानुनी कारवाहीमा तानिएका तामाङ यतिबेला अदालतको आदेशमा पुर्पक्षका क्रममा थुनामा रहेका छन् । तामाङका विषयमा सम्पत्ति शुद्धिकरण विभागले समेत अनुसन्धान गरिरहेको छ ।

OM Sai Pathibhara Hospital

विभागको अनुसन्धानका क्रममा ठगीमा संलग्न तामाङलाई प्रभु बैंकले ४० करोड रुपैयाँ लगानी गरेको र सो लगानीका लागि देखाइएको जमिन मालपोतको अभिलेखमा नदेखिएकाले बैंक समेत सङ्कटमा फस्ने भएको छ ।

तामाङ र उनका ससुरा केशवलाल श्रेष्ठ सञ्चालक रहेको अर्को कम्पनी  ‘बौद्ध हाउजिङ प्रालि’ का नाममा प्रभु बैंकबाट भएको लगानीलाई सम्पत्ति शुद्धिकरण विभागले शङ्काको घेरामा राखेपछि तामाङको ठगी प्रकरणमा प्रभु बैंक समेत तानिएको हो ।

काठमाण्डौमा नै २० रोपनी क्षेत्रफलमा रहेको भनिएको कम्पनीलाई प्रभु बैंकले गरेको ४० करोड लगानीमा धितोको रुपमा देखाइएका जग्गा मालपोत कार्यालयको अभिलेखमा नभेटिएकाले बैंक समेत फस्ने अवस्था आएको छ । बैंकको लगानी समेत उपदेशपूर्ण देखिएको भन्दै विभागले ऋण लगानीमा संलग्न बैंक अधिकारीका विषयमा समेत अनुसन्धान अघि बढाएको विभाग स्रोतले जानकारी गराएको छ ।

पाँच करोड रुपैयाँ मात्रै चुक्ता पुँजी भएको कम्पनीलाई कम्पनी धितोमा राखेर ४० करोड रुपैयाँ ऋण लगानी गरिएको र धितोको रुपमा देखाइएका जग्गा समेत मालपोतको अभिलेखमा नपाइएकाले बैंकका अधिकारीका विषयमा समेत छानविन अघि बढाइएको स्रोतको भनाई छ ।

अर्बौँ ठगीमा संलग्न एमालेका पूर्व सांसद तामाङ ले विगतमा सर्वसाधारणलाई प्रभु बैंककै चेक दिने गरेका थिए । उनको विगत र बैंकका सीईओ अशोक शेरचनसँगको सम्बन्धका कारण उनलाई समेत अनुसन्धानको घेरामा राखेर अनुसन्धान अघि बढाइएको स्रोतको दावी छ ।