बिर्तामोड / राप्रपाका अध्यक्ष राजेन्द्र लिङ्देनमाथि महिला र दलित विरोधी भएको आरोप लागेको छ । पञ्चायती व्यवस्थामा तत्कालीन राजसंस्था वरिपरि रहेको शासनसत्तामा रजगज गरेकाको बाहुल्यता रहेको राप्रपामा पुराना नेतालाई पाखा लगाउँदै अध्यक्ष बनेका लिङ्देनमाथि दलित र महिला विरोधी भएको आरोप लागेको हो ।

उनी अध्यक्ष भए लगत्तै राप्रपा पुराना अध्यक्ष कमल थापा , पशुपति शमशेर जबरा र लोकेन्द्र बहादुर चन्द पक्षधरले पार्टी सञ्चालनका विषयमा असन्तुष्टि प्रकट गर्दै आएका थिए । उनीहरूले अध्यक्षले पार्टी पदाधिकारी र सदस्य मनोनयन प्रति एकलौटी गरेको भनेको भन्दै आपत्ति जनाइरहेका छन् ।

अध्यक्ष लिङ्देनले पछिल्लो पटक गरेका मनोनयनमा पनि महिला र दलितलाई समानरूपमा स्थान नदिएको भन्दै उनीहरूले असन्तुष्टि पोखेका छन् ।

गत पुष २१ गते ३५ केन्द्रिय सदस्य मनोनयन र माघ १६ गते गरिएको पदाधिकारी मनोनयनमा पनि दलित समुदायको प्रतिनिधित्व नभएको भन्दै पार्टी भित्र रहेका दलित समुदायका नेता र पूर्व अध्यक्ष पक्षधरले आपत्ति प्रकट गरेका छन् ।

उनीहरूले पार्टीको प्रवक्ता नै ७ जना तोक्दा समेत दलित समुदायका नेतालाई स्थान नदिएकोमा आक्रोश समेत व्यक्त गरेका छन् । मुलुकको कुल जनसङ्ख्याको १२ प्रतिशत हिस्सा रहेको दलित समुदायबाट प्रतिनिधित्व नगराएको भन्दै उनीहरूले त्यस्तो आरोप लगाएका हुन् ।

पदाधिकारी मनोनयनमा इतर समुहका नेतासँग परामर्श नगरेको भन्दै उनीहरूले अध्यक्ष दलित सँगै महिला विरोधी भएको समेत आरोप लगाउन थालेका छन् । अध्यक्षले केन्द्रिय सदस्य मनोनयनमा दुई महिला समेटेका थिए । राजनीतिक दल सम्बन्धी कानुनले हरेक राजनीतिक दलको नेतृत्वमा ३३ प्रतिशत महिलालाई स्थान दिनुपर्ने व्यवस्था गरेको भएपनि सो कुरा पालना नभएको लिङ्देन इतर समुहका नेताहरूले दावी गरेका छन् ।