बिर्तामोड / राप्रपाका अध्यक्ष राजेन्द्र लिङ्देन पार्टी सञ्चालनमा असफल सावित भएको कमल थापा पक्षधर नेताले आरोप लगाउन थालेका छन् ।

अध्यक्षमा निर्वाचित भएको करिव दुई महिना सम्म पनि पदाधिकारी नियुक्त गर्न नसकेकाले उनी पार्टी सञ्चालनमा असफल बनेको थापा पक्षीय नेताहरूले आरोप लगाएका हुन् । राप्रपाको विधानमा महामन्त्री एक सहित सहमहामन्त्री , कोषाध्यक्ष र सहकोषाध्यक्ष सहित दर्जन पदमा उनले नियुक्ति गर्न सकेका छैनन् ।

OM Sai Pathibhara Hospital

गत पुष २० गते अध्यक्षले मनोनित गरेका केन्द्रिय सदस्य पनि विवाद रहित हुन सकेको छैन । जनमत नभएका र असमावेशी भएको भन्दै उनी माथि आरोप लागि रहेको छ ।

केन्द्रिय सदस्य मनोनितमा पनि उनले मधेश प्रदेशबाट सिराहाका रामप्रताप साहलाई मात्रै नियुक्ति गरेर राप्रपाको जनमत धेरै रहेका धनुषा र पर्सा लगायतका जिल्लाबाट मनोनयनमा कोहीलाई पनि नसमेटेको भन्दै विरोध भइरहेको छ । मनोनितमा महिलालाई पनि समावेश नरेको भन्दै थापा पक्षधरले विरोध जनाएका छन् । कुल ३१ जनामा लिङ्देनले सरस्वती केसी अधिकारीलाई मात्रै मनोनित गरेका छन् ।

पार्टी अध्यक्षमा निर्वाचित भएको दुई महिना पुगेपनि उनले अझै सम्म पनि पार्टीको प्रवक्ता समेत तोक्न सकेका छैनन् । लिङ्देनसँग पार्टी सञ्चालनमा यतिबेला प्रकाशचन्द्र लोहनीको मात्रै साथ रहेको राप्रपाका एक नेताले जानकारी गराएका छन् । उनका अनुसार पूर्वअध्यक्ष कमल थापा, पशुपतिशमशेर राणा र लोकेन्द्रबहादुर चन्दलगायतका नेताहरू लिङ्देनको विपक्षमा उभिएका छन् ।

अध्यक्ष लिङ्देन पक्षधर नेताले भने पार्टीमा पदाधिकारीको आकांक्षी बढि देखिएकाले नियुक्तिमा समस्या देखिएको दावी गरेका छन् ।