काठमाडौँ / अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सामाजिक सुरक्षा भत्ता र राजस्व हिनामिना अभियोगमा नुवाकोट पञ्चकन्या गाउँपालिका –२ का वडासचिवसहित ३ जनाविरुद्ध मुद्दा दायर गरेको छ । 

अख्तियारले शुक्रबार वडा सचिव सरिता राउत, रामकुमार गिरी र कार्यालय सहयोगी निलप्रसाद मिश्रविरुद्ध सार्वजनिक सम्पत्ति हानि–नोक्सानी गरी भ्रष्टाचार गरेको अभियोग लगाउँदै विशेष अदालतमा मुद्दा दायर भएको हो ।

OM Sai Pathibhara Hospital

गतवर्ष चैत २४ गते सामाजिक सुरक्षा भत्ता वितरण गर्न ल्याएको रकम र संकलित राजस्वसहित ५३ लाख १ हजार ८ सय ५६ रुपैयाँ हराएपछि आयोगले अनुसन्धान गरी ‘हिनामिना’ भएको ठहर गरेको हो ।

अख्तियारका सहायक प्रवक्ता बोदप्रसाद भण्डारीका अनुसार, उक्त रकम राखिएको दराजको सेफको साँचो सरिता राउत र रामकुमार गिरीसँग रहेको एवं ढोकाको साँचो निलप्रसाद मिश्रले बोकेका थिए ।

तर, ताल्चा लगाएको ठाउँमा कुनै तोडफोड भएको नदेखिएको, सुरक्षा निकायलाई जानकारी नगराएको साथै सुरक्षाका लागि समन्वयसमेत गरेको देखिएन ।

वडा कार्यालयमा रकम राखी घर गएको देखिएको हुँदा राउत, गिरी र मिश्रले नेपाल सरकारको सम्पत्तिको बदनियत गरी हानिनोक्सानी गरेको अभियोग आयोगले लगाएको हो । तीनै जनाबाट उक्त रकम असुल हुनुपर्ने माग आयोगको छ ।