झापा / मोरङको धनपालथान –७ बोर्डिङ टोलस्थित उखुबारीमा भेटिएका दुई शवको अनुसन्धानमा जुटेको प्रहरीले जग्गा कारोबारका क्रममा देखिएको विवादका कारण उनीहरूको हत्या भएको प्रारम्भिक निष्कर्ष निकालेको छ ।
बुधबार र बिहीबार खाल्डो खनिएर गाडिएको अवस्थामा भेटिएका दुई शवको अनुसन्धानमा जुटेको प्रहरीले पहिचान खुलेका मृतकको परिवारका सदस्यको बयानलाई आधार मानेर हत्याको कारण जग्गा कारोबारसँग जोडिएको निष्कर्ष निकालेको हो ।
करिव २५ मिटरको फरकमा रहेका खाल्डोमा बुधबार र बिहीबार भेटिएका शव मध्ये अझै एक जनाको भने पहिचान खुलिसकेको छैन ।
बिहीबार उत्खनन गरिएको शव भने सुनसरीको धरान ३ का ४९ वर्षीय राजेन्द्र कुमार श्रेष्ठको भएको प्रहरीले जनाएको छ । मृतकको साथमा भेटिएको पर्स , कागजात र सिमकार्डका आधारमा श्रेष्ठको पहिचान भएको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ ।
बुधवार उत्खनन गरिएको खाल्डोमा भेटिएको अन्दाजी ३५ ४० वर्षीय पुरुषको शवको भने अझैसम्म पनि पहिचान हुन सकेको छैन । श्रेष्ठ र पहिचान हुन नसकेका पुरुषको शव एकै स्थानमा एकै प्रकृतिमा भेटिएकाले जग्गा कारोबारकै विषयका कारण दुवैको हत्या गरिएको हुन सक्ने प्रहरीले अनुमान गरेको छ ।
याे पनि –उखुबारीमा गाडेको अवस्थामा एक पुरुषको शव फेला
याे पनि –धनपालनाथ घटना अपडेट : दोस्रो खाडलमा पनि शव फेला
भक्तपुरको लोकन्थलीमा रहेको जेठानको घरमा बस्दै आएको श्रेष्ठ गत मंसिर ४ गते साथीसँग जग्गा कारोबारमा देखिएको विवाद र लेनदेन मिलाउन भन्दै हिँडेका थिए ।
श्रेष्ठले साझेदारीमा झापामा लिएको करिव १८ बिगाहा जग्गालाई प्लटिङ गर्ने क्रममा लगानीकर्ताबीच विवाद रहेको उनको परिवारबाट खुलेको अनि श्रेष्ठ आर्थिक कारोबारमा फसेको पाइएको अनुसन्धानमा संलग्न प्रहरी अधिकारीले जानकारी गराएका छन् ।
धनपालथान घटनाको अनुसन्धानमा जुटेको प्रहरीले जग्गा कारोबार र सुन कारोबारका कारण घटना भएको हुन सक्ने अनुमान गर्दै अनुसन्धानको दायरालाई फराकिलो बनाएर अनुसन्धान गरिरहेको छ ।
पहिचान खुलेका श्रेष्ठ विगतमा सुन कारोबारमा संलग्न रहेको देखिएको छ । सुन कारोबारमा डुबेपछि करिव ८ वर्ष जापान बसेर फर्केका श्रेष्ठ पछिल्लो समयमा जग्गा कारोबारमा लागेका थिए ।