विराटनगर / मोरङको धनपालनाथ गाउँपालिका –७ कमलपुरस्थित उखुबारीमा अर्को पनि पुरुषको शव फेला परेको छ ।
बुधबार उखु काट्न गएका किसानहरूले उखुबारी भित्र शंकास्पद दुईवटा खाडल देखेपछि प्रहरीलाई खबर गरेका थिए । प्रहरीले बिहीबार बिहान एउटा खाडल उत्खनन गर्दा अन्दाजी ३०–३५ वर्षीय पुरुषको शव फेला परेको थियो ।
करिब पाँच फिट गहिरो खाल्डोमा गाडिएको पुरुषको शव सडेका कारण पहिचान गर्न नसक्ने अवस्थामा रहेको जिल्ला प्रहरी कार्यालय मोरङका प्रहरी नायव उपरीक्षक (डीएसपी) दीपक श्रेष्ठले जानकारी दिए । श्रेष्ठका अनुसार शवको प्रकृति हेर्दा हत्या गरी गाडेको हुनसक्ने देखिएकाे छ ।
शव उत्खनन गरेको खाल्डो भन्दा करिब २० मिटर टाढा अर्को पनि खाल्डो फेला परेको थियो । शङ्का लागि दोस्रो खाडलको पनि उत्खनन गर्दा अर्को अन्दाजी ४० वर्षीय पुरुषको शव भेटिएको हो ।
मृत पुरुषको घाँटीमा डोरीले बाँधेको डाम देखिएको श्रेष्ठले जानकारी दिए । उनका अनुसार उक्त पुरुषको साथबाट धरान घर भएको कागजपत्र फेला परेको छ ।
दुवै शवको प्रकृति हेर्दा हत्या गरेर गाडिएको छ । तर कुन तरिकाले हत्या गरिएको हो भन्नेबारे केही नखुलेको र पोस्टमार्टम रिपोर्टपछि थाहा हुने उनले बताए । अहिले घटनास्थलमा संघीय प्रहरी कार्यालयबाट तालिम प्राप्त कुकुर ल्याएर घटनास्थलमा स्निफिङ गराइएको छ ।