विराटनगर / मोरङको धनपालनाथ गाउँपालिका –७ कमलपुरस्थित उखुबारीमा गाडेको अवस्थामा एक पुरुषको शव फेला परेको छ ।
बुधबार उखु काट्न गएका किसानहरूले उखुबारी भित्र शंकास्पद दुईवटा खाल्डो देखेपछि प्रहरीलाई खबर गरेका थिए । प्रहरीले दुई वटा खाल्डो मध्ये एउटा उत्खनन गर्दा अन्दाजी ३०–३५ वर्षीय पुरुषको शव फेला परेको हो ।
कपडासहित गाडेको अवस्थामा पुरुषको शव फेला परेको जिल्ला जिल्ला प्रहरी कार्यालय मोरङका डीएसपी दीपक श्रेष्ठले जानकारी दिए । श्रेष्ठका अनुसार शव सडेको कारण पहिचान भने हुन सकेको छैन् ।
करिब पाँच फिट गहिरो खाल्डोबाट निकालिएको शवको अनुहार पहिचान गर्न नसक्ने अवस्थामा छ । शवको प्रकृति हेर्दा हत्या गरी गाडेको हुनसक्ने प्रहरीले बताएको छ ।
शव उत्खनन गरेको स्थान नजिकै अर्को पनि खाल्डो फेला परेको छ । शव गाडेको आशङ्कामा प्रहरीले सो खाल्डो पनि उत्खनन गर्ने तयारी गरेको डीएसपी श्रेष्ठले बताए ।
प्रहरीका अनुसार बुधबार उत्खनन गरिएको खाल्डो भन्दा करिब २० मिटर टाढा उखुबारी भित्रै खाल्डो भेटिएको हो ।