काठमाडौँ / आगामी नोभेम्बरमा कतारमा हुने फिफा विश्वकप अन्तर्गत दक्षिण अमेरिकी छनोटमा ब्राजिलले इक्वेडरसँग १–१ को बराबरी खेल्दै अङ्क बाँडेको छ ।

यसअघि नै कतार विश्वकपका लागि छनोट भइसकेको ब्राजिल दक्षिण अमेरिकी छनोटको शीर्ष स्थानमा छ । ब्राजिलको १४ खेलबाट ३६ अंक छ । इक्वेडर १५ खेलबाट २४ अंकसहित तेस्रो स्थानमा छ ।

OM Sai Pathibhara Hospital

अर्को खेलमा लिओनल मेसी बिनाको अर्जेन्टिनाले चिलीलाई २–१ ले पराजित गरेको छ । शुक्रबार बिहान सम्पन्न खेलमा तीनै गोल पहिलो हाफमा भएको थियो ।

अर्जेन्टिनाका लागि एन्जल डि मारियाले खेलको दशौँ र लाउटारो मार्टिनेजले ३४औं मिनेटमा गोल गरे । चिलीका लागि बेन बेरेटेनले २१औं मिनेटमा गोल गरेका थिए ।

ब्राजिलसंगै अर्जेन्टिना पनि यसअघि नै विश्वकपका लागि छनोट भइसकेको छ । अर्जेन्टिना १४ खेलबाट ३२ अंकसहित दोस्रो स्थानमा छ । चिली १६ अंकसहित सातौं स्थानमा छ ।

छनोटकै अर्को खेलमा उरुग्वेले पाराग्वेलाई १–० ले पराजित गरेको छ । उरुग्वेका लागि लुइस सुआरेजले खेलको ५०औं मिनेटमा गोल गरेका थिए ।

जितपछि उरुग्वे १५ खेलबाट १९ अंक जोडेर चौथो स्थानमा उक्लेको छ । पाराग्वे १५ खेलबाट १३ अंकसहित नवौं स्थानमा छ ।