कर्णाली / अबदेखि कर्णाली प्रदेश सभा खुला संसद्को अभ्यासमा लाग्ने भएको छ। कर्णाली प्रदेश सभाले हरेक महिनाको दुई दिन सर्वसाधारणका लागि खुला गर्ने भएको छ। प्रत्येक महिनाको १५ र २९ गते संसद् खुला राख्ने प्रदेश सभा सचिवालयले जनाएको हो ।

सभामुख राजबहादुर शाहीको अध्यक्षतामा बिहीबार बसेको पदाधिकारीको बैठकले यस्तो निर्णय गरेको छ । प्रदेशसभाका सचिव जीवराज बुढाथोकीका अनुसार संसद् खुला हुनुपर्ने मान्यताबमोजिम कर्णाली प्रदेशसभा पनि खुला गर्ने निर्णय गरिएको हो

OM Sai Pathibhara Hospital

‘अबदेखि कर्णाली प्रदेश सभाभित्र के कस्तो छ र बैठक गर्ने ठाउँ कस्तो छ सबै कुरा सर्वसाधारण नागरिकले पनि प्रत्यक्षरूपमा अवलोकन गर्न पाउने भएका छन्। सभाभित्रका सबै कुराको विषयमा जानकारी दिएर घुमाउने कर्मचारीको समेत व्यवस्था गरिएको छ,’ उनले भने।

संसद् खुला हुनुपर्छ भनिए पनि अहिलेसम्म व्यवहारमा लागू नभएका कारण यहाँका भौतिक संरचना तथा सदन हेर्नका लागि खुला गरिने अभ्यासमा लागेको उनले बताएका छन् । खुला संसद्को अभ्यासमा लागेको सातवटै प्रदेशमध्ये कर्णाली पहिलो हो।

‘संसदभित्र बैठक हुँदाको दिनमा बैठकको पनि अवलोकन गर्ने र अन्य दिन भए हल तथा त्यहाँ भएका अन्य संरचनाको अवलोकन गर्न पाइनेछ। संसद् खुला हुनुपर्छ र संसदभित्रका गतिविधि नागरिकले पनि जान्न पाउनुपर्छ भनेर यो अभ्यासमा लागेका हौँ,’ उनले भने।

बेलायतलगायतका देशमा संसद्को वरिपरि पर्खाल पनि नलाएर नागरिकका लागि खुला राख्ने अभ्यास भएको हुँदा खुलापनको अभ्यास गर्न जरुरी रहेको उनको भनाइ थियो।