जनकपुर / प्रदेश सरकारले मधेश प्रदेशको राजधानी जनकपुरधाम आएका जनप्रतिनिधिको सवारी साधनमा तोडफोड गर्ने जनमत पार्टीका कार्यकर्तामाथि कारवाही गर्न निर्देशन दिएको छ ।   

    
मधेश प्रदेश सरकारका प्रवक्ता तथा अर्थमन्त्री शैलेन्द्र प्रशाद साहले बुधबार बेलुकी प्रेस विज्ञप्ति जारी गरी राष्ट्रियसभा निर्वाचनका लागि मतदान गर्न जनकपुरधाम आएका जनप्रतिनिधिका सवारी साधनमा गरिएको तोडफोड एवं हिंसा जन्य गतिविधिप्रति प्रदेश सरकारको गम्भीर ध्यानाकर्षण भएको बताएको छ ।    
    
पूर्व घोषित विरोधका कार्यक्रम नरहेको अवस्थामा पनि जनमत पार्टीका कार्यकर्ताले प्रदेशसभा सदस्य अशोक यादव, हरिवन नगरपालिकाका प्रमुख, उपप्रमुख, जलेश्वर अस्पतालका मेसु डा. सतिश साह लगायतका सवारी साधन तोडफोड गर्नाका साथै सांघातिक आक्रमण गरेको घटनाको वास्तविक छानविन गरी सम्बन्धित जनप्रतिनिधि एवम् चिकित्सकलाई क्षतिपूर्ति उपलब्ध गराउन एवं दोषी उपर कारवाही गर्न तालुक निकायलाई निर्देशित गरिएको विज्ञप्तिमा उल्लेख छ ।    
    
घाइतेको शिघ्र स्वास्थ्यलाभको कामना गर्दै लोकतान्त्रिक मूल्य र मान्यतामा विश्वास राखी अहिंसात्मक तवरबाट आफ्नो विचार एवं अभिमत प्रकट गर्नसमेत जनमत पार्टीलगायत सम्बद्ध सबैमा उनले आग्रह गरे।    
    
यसैबीच मधेश प्रदेशमा राष्ट्रियसभाको निर्वाचन बिथोल्न खोजेको आरोपमा जनकपुरधामबाट पक्राउ परेका जनमत पार्टीका सात कार्यकर्तामाथि प्रहरीले कानुनी कारवाही अघि बढाउने भएको छ । 

OM Sai Pathibhara Hospital

जनमतका कार्यकर्ताहरूले किसान आन्दोलनको नाउँमा बाँसको भाटासहित मतदान स्थलमा प्रवेश गर्न खोज्दा प्रहरीसँग झडप भएको थियो ।