बिर्तामोडसिके राउत नेतृत्वका कार्यकर्ताले बुधबार जनकपुरमा कयौं सरकारी गाडीमा तोडफोड गर्नुका साथै चिकित्सकदेखि जनप्रतिनिधि सम्मलाई आक्रमण समेत गरेका छन् । बुधबार जनकपुरधाममा राष्ट्रियसभाको निर्वाचनस्थलमा  ‘मल देउ, मत लेउ’ भन्दै प्रदर्शनमा उत्रिएका जनमत पार्टीका कार्यकर्ता आक्रामक रुपमा प्रस्तुत भएका हुन् ।

प्रदर्शनकारीले जलेश्वर अस्पतालका निमित्त प्रमुख डा सतिश साहमाथि जनकपुरधामको पिडारी चोकमा आक्रमण गरेका थिए । घाइते भएका डा साहको मुखमा ८ वटा टाँका लगाइएको छ । डा साह चढ्ने प्रदेश २–०२–००१ झ ०१६३ नम्बरको सरकारी गाडीमा आन्दोलनकारीले आक्रमण गरेका थिए ।

OM Sai Pathibhara Hospital

मधेस प्रदेशमा जारी राष्ट्रियसभा निर्वाचनमा अवरोध गर्ने उद्देश्यले सिके राउत नेतृत्वको जनमत पार्टीका कार्यकर्ताले मतदानका लागि आउँदै गरेका जनप्रतिनिधि सवार ८ वटा सरकारी गाडीमा तोडफोड गरेका छन् ।

राउतका कार्यकर्ताले जनकपुरधामको पिडारी चोकमा लाठी, ढुंगामुढा गरेर जनता समाजवादी पार्टीका प्रदेश सभाका सदस्य अशोक यादवको गाडीमा तोडफोड गरेका छन् । सो क्रममा प्रदेशसभाका सदस्य यादवको हात भाँचिएको छ ।

प्रदेश २–०३–०१ झ ००२०, प्रदेश २–०१ झ ००१८, प्रदेश २–०१ झ–००८० नम्बरलगायतका सरकारी गाडीमा प्रदर्शनकारीले तोडफोड गरेका छन् । प्रदर्शनकारीहरूले आक्रमण गर्दा सर्लाही जिल्लाका हरिवन नगरपालिकाका नगर प्रमुख गणेश प्रसाईँउपमेयर रेणुका पौडेल घाइते भएका छन् ।

अहिलेसम्म प्रदर्शनकारी र प्रहरी बीच भएको झडपमा ८ जना प्रदर्शनकारी तथा ४ जना प्रहरी घाइते भएका छन् ।