विराटनगर / नेकपा माओवादी केन्द्र प्रदेश १ कमिटीले जिल्ला नेतृत्व चयन गरेको छ । प्रदेशको दोस्रो पूर्ण बैठकले १४ जिल्ला मध्ये ८ जिल्लाका संयोजक तोकेको छ भने विवाद देखिएका ६ जिल्लामा भने संयोजक चयन गर्न बाँकी रहेको छ ।

प्रदेश कमिटीको बैठकले भोजपुर, तेह्रथुम, संखुवासभा, पाँचथर, इलाम , खोटाङ, उदयपुर र सोलुखुम्बुको संयोजक तोकेको हो ।

OM Sai Pathibhara Hospital

बैठकले खोटाङ संयोजकमा दिपक पाण्डे , उदयपुर संयोजकमा बिनोद कट्वाल, सोलुखुम्बु संयोजकमा असिम राई, भोजपुर संयोजकमा नगेन्द्र भुजेल, तेह्रथुम संयोजकमा इम्जुङ, संखुवासभा संयोजकमा टेकमान राई, पाँचथर संयोजकमा होमबहादुर जबेगु र इलाम संयोजकमा सोममाया राई लाई जिम्मेवारी दिएको छ ।

विवादका कारण जिल्ला संयोजक चयन हुन बाँकी रहेका ६ जिल्लामा भने केही अर्को बैठकबाट नेतृत्व चयन गरिने प्रदेश उपाध्यक्ष शिवकुमार डाँगीले जानकारी गराएका छन् ।

डाँगीले मोरङ, सुनसरी, झापा, धनकुटा, ताप्लेजुङ, ओखलढुंगामा संयोजक तोक्ने विषयमा नेताहरू बिच सहमति हुन नसकेकाले अर्को बैठकबाट निर्णय गरिने बताएका छन् । बाँकी रहेका प्रदेशका अन्य जिल्लामा भने जिल्लामा रहेका प्रदेश सदस्यले नाम छनौट गर्न नसके प्रदेशले नाम तय गर्ने उनले बताएका छन् ।

बैठकले विराटनगरमा आफ्नै भवन निर्माण गरी प्रदेश कार्यालय स्थापना गर्ने समेत निर्णय गरेको छ ।

त्यैसरी बैठकले प्रदेश कार्यालयको इन्चार्जमा टंक गिरी र सचिवमा मातृका बराललाई जिम्मेवारी दिएको छ ।

बैठकले उपाध्यक्ष शिवकुमार डाँगी संयोजक रहेको उत्पादन सम्बन्धी अध्ययन कार्यदल, उपाध्यक्ष मणिकुमार साम्पाङ संयोजक रहेको सूचना प्रविधि उपयोग सम्बन्धी अध्ययन कार्यदल र उपाध्यक्ष देवान चाम्लिङ संयोजक रहेको सर्वेक्षण कार्यदल बनाएको छ ।

चैतसम्म संगठनात्मक अभियान चलाउने र प्रदेश १ मा पार्टीको सदस्य संख्या १ लाख ५० हजार थप गर्न अभियान सञ्चालन गर्ने पनि बैठकले निर्णय गरेको छ ।