बिर्तामोड / राष्ट्रियसभाको रिक्त १९ पदका लागि मतदान सुरु भएको छ । बुधबार बिहान ९ बजेदेखि मतदान सुरु हुने तालिका रहेको भए पनि एक घण्टा ढिला गरी मतदान सुरु भएको हो । मुलुकका ७ वटै प्रदेशमा अहिले मतदान जारी छ ।

६ वटा प्रदेशमा एमालेका उमेद्धारले एक्लै पाँच दलीय गठबन्धनका उमेद्धारसँग चुनावी प्रतिस्पर्धामा रहेका छन् । मधेश प्रदेशमा भने एमालेले लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा)सँग गठबन्धन गरी सत्तारुढ दलका उमेद्धारसँग चुनावी प्रतिष्पर्धा गरिरहेको छ ।

OM Sai Pathibhara Hospital

यसैबीच मधेश प्रदेको राजधानी जनकपुरमा भने मतदानका क्रममा झडप भएको छ । जनकपुरमा प्रहरी र जनमत पार्टीका कार्यकर्ताहरुबीच झडप भएको हो ।

जनमत पार्टीका कार्यकर्ताहरू मतदानस्थलमा प्रवेश गर्न खोजेपछि प्रहरीले हस्तक्षेप गर्दा झडप भएको हो । झडपका क्रममा प्रहरीले लाठी चार्ज गर्नुका साथै अश्रुग्यास प्रहार गरेको छ । स्थिति तनावपूर्ण बनेपछि प्रहरीले पाँच राउन्ड अश्रुग्यास प्रहार गरेको बताइएको छ ।

सिके राउत नेतृत्वको जनमत पार्टीका कार्यकर्ताले ‘पहिले खाद देऊ, अनि भोट खसाऊ’ भन्दै प्रदर्शन गरिरहेका छन् । उनीहरूले धनुषाका विभिन्न स्थानमा प्रदर्शन गरिरहेका छन् ।