काठमाडौँ / बुधबार हुने राष्ट्रिय सभा सदस्य चुनावको सबै तयारी पूरा भएको निर्वाचन आयोगले जनाएको छ ।

आयोगका अनुसार राष्ट्रिय सभामा रिक्त हुन लागेका १९ सिटका लागि बुधबार बिहान ९ बजेदेखि ३ बजेसम्म मतदान हुने छ । 

शान्ति सुरक्षा, स्वास्थ्य मापदण्ड तथा निर्वाचन स्थल र केन्द्र निर्माण लगायत गर्नुपर्ने निर्वाचन व्यवस्थापनको सम्पूर्ण तयारी पूरा भएको आयोगका प्रवक्ता शालिग्राम पौडेलले जानकारी दिए । बाँकी रहेका काम आजै सक्ने आयोगको तयारी छ । 

OM Sai Pathibhara Hospital

पौडेलका अनुसार चुनावका लागि आइतबार राति देखि मौन अवधि जारी छ । निर्वाचनमा खटिने सुरक्षाकर्मी, निर्वाचन कर्मचारी र स्वास्थ्यकर्मी सहितको टोलीको व्यवस्थापन भइसकेको छ ।  

सातै प्रदेशमा तोकिएका आठ मतदानस्थल र १४ केन्द्रमा बुधबार बिहान नौ बजेदेखि मतदान सुरु हुने छ । चुनावबाट ७ महिला, ३ दलित, २ अपांगता भएका व्यक्ति वा अल्पसंख्यक र ७ अन्य समूहका उम्मेदवार निर्वाचित हुनेछन् ।

चुनावमा ९ दलका ४३ जना उम्मेदवार चुनावी मैदानमा छन् । प्रदेश १ मा ३, मधेस प्रदेशमा २, वाग्मतीमा २, गण्डकीमा ३, लुम्बिनीमा ३, कर्णालीमा ३ र सुदूरपश्चिममा ३ पदका लागि चुनाव हुनेछ । 

चुनावका लागि कुल २ हजार २५ जना मतदाता छन् । स्थानीय तहका प्रमुखको मतभार १८ र प्रदेश सभा सदस्यको मतभार ४८ तय गरिएको छ । 

निर्वाचनमा हरियो र रातो रङ्गको मतपत्र प्रयोग हुनेछ । रातो रङ्गको मतपत्र स्थानीय तहका प्रमुख र उपप्रमुखले प्रयोग गर्नेछन् । हरियो रङ्गको मतपत्र प्रदेश सभा सदस्यले प्रयोग गर्ने छन् ।

एमालेका ८, एकीकृत समाजवादीका ४, नेकपा माओवादी केन्द्रका ४, कांग्रेसका ३ र १ जना मनोनीतको कार्यकाल फागुन २० मा सकिँदैछ ।