बिर्तामोड / मछिन्द्र फुटबल क्लब पोखरामा जारी आहा रारा गोल्डकपको सेमिफाइनलमा प्रवेश गरेको छ ।

सोमबार भएको क्वार्टरफाइनलमा संकटा क्लबलाई ४ १ ले पन्छाउँदै मछिन्द्रले अन्तिम चारमा स्थान पक्का गरेको हो । यी दुवै टिम बाइ पाएर सिधै क्वार्टरफाइनल प्रवेश गरेका थिए ।

OM Sai Pathibhara Hospital

सहिद स्मारक ए डिभिजन लिगमा पहिलो स्थानमा रहेको मछिन्द्रले पोखरा रङ्गशालामा १३ औँ मिनेटमै गोलको खाता खोलेको थियो । उसका लागि उत्सव राईले पहिलो गोल गरेका थिए । त्यसपछि विदेशी खेलाडी मेुसुके ओलोमौउले ४७ औँ मिनेटमा मछिन्द्रको दोस्रो गोल गरे । उनले ८६ औँ मिनेटमा व्यक्तिगत दोस्रो गोल गरेका थिए । उनीअघि अभिषेक गुरुङले मछिन्द्रको तेस्रो गोल गरेका थिए ।

संकटाका लागि एक मात्र गोल गणेश हमालले गरेका थिए । उनले ६३ औँ मिनेटमा संकटाका लागि सान्त्वना गोल फर्काएका थिए । विजेता मछिन्द्रले अब सेमिफाइनलमा नेपाल एपीएफ फुटबल क्लबको सामना गर्नेछ । एपीएफ पहिलो खेलमा आयोजक सहारा क्लब र दोस्रो खेलमा पाहुना टिम भुटनिज युथ स्पोर्ट्स क्लबलाई हराउँदै सेमिफाइनल पुगेको हो ।