काठमाडौँ / नेकपा माओवादी केन्द्रका नेता वर्षमान पुन उपचार सकेर फर्किएपछि माओवादी केन्द्रको रोकिएको पदाधिकारी छनौट प्रकिया अघि बढ्ने भएको छ । माओवादी केन्द्रको पुस ११ देखि पुस १५ सम्म काठमाडौँमा भएको आठौँ महाधिवेशन पुनको अनुपस्थितिमा अध्यक्ष बाहेक अन्य पदाधिकारीको छनौट नगरी सम्पन्न गरिएको थियो ।

 माओवादी केन्द्रको विधानले अध्यक्ष पछाडि दोस्रो शक्तिशाली र कार्यकारी पद महासचिव रहने व्यवस्था गरेको छ । महासचिवका आकांक्षी रहका प्रचण्ड पछाडि दोस्रो पुस्ताका ५ जना शीर्ष नेताहरू भने बलियो प्रतिष्पर्धामा रहेका छन । 

OM Sai Pathibhara Hospital

अर्थमन्त्री जनार्दन शर्मा , स्थायी समिति सदस्य शक्तिबहादुर बस्नेत , ऊर्जामन्त्री पम्फा भुसाल , स्थायी समिति सदस्य देव गुरुङ र स्थायी समिति सदस्य वर्षमान पुन महासचिवका आकांक्षी रहेका छन् । बलिया दाबेदार मानिएका वर्षमान पुन र जनार्दन शर्मा बिच चुनावी प्रतिष्पर्धा हुने सम्भावना रहेको छ । 

दुवै नेताको पार्टी भित्र छुटै प्रभाव र आफ्ना आफ्ना गुट समेत भएकाले समस्या झेलिरहेका माओवादी अध्यक्ष प्रचण्ड भने दुवैलाई पन्साएर देव गुरुङ र पम्फा भुसाल मध्ये एकजनालाई सर्वसम्मत महासचिव बनाउने पक्षमा रहेका छन् । माओवादी केन्द्रको विधानमा निर्वाचन प्रकियाबाट केन्द्रिय समितिले पदाधिकारीको छनौट गर्ने व्यवस्था रहेको छ ।

उज्यालो नेपाल योजनालाई सफल बनाएर लोकप्रिय बनेका जनार्दन शर्मा माथि अर्थ मन्त्री भएको ६ महिना बितिसक्दा पनि अर्थतन्त्रलाई सन्तुलित पार्न नसकेको भन्दै नागरिक स्तरबाट आरोप लाग्ने गरेको छ । पार्टीका अन्य पुराना र अनुभवी नेतालाई पाखा लगाउदै आफ्ना भाइ अनिल शर्मालाई पदमा पुर्याएको नेता शर्मा माथि आरोप लाग्ने गरेको छ ।

पुनले पनि आफू सँधै लाभको पदमा रहेर आफू निकटका व्यक्तिलाई समेत पटक पटक लाभको पदमा पुर्याउन भूमिका खेल्दै आएको आरोप खेप्ने गरेका छन् ।

महासचिव पदका अर्को दाबेदार पम्फा भुसाल माओवादी युद्धको समयमा माओवादी नेता एवम् अहिलेका एमाले नेता राम बहादुर थापा (बादल) सँग सांस्कृतिक विचलनको आरोपका कारण कारवाहीमा परेकी थिइन् । 

सांस्कृतिक विचलनको आरोप खेपिसकेकी भुसाललाई पार्टी भित्र कमजोर मानिने गरेको छ । सोही मुद्दाका कारण विवादमा पटक पटक तानिएकी भुसाललाई कार्यकर्ताको राम्रो र बलियो साथ भने रहेको छैन । पार्टी भित्र स्वच्छ छविका अर्का नेता देव गुरुङ पनि महासचिवका दाबेदार रहेका छन् ।

 प्रचण्डले विकल्पको रुपमा अगाडि सारेका गुरुङले एम सी सी सम्झौताको विरुद्धमा राखेको अडान कै कारण माओवादी नेतृत्व एम सी सीको विरुद्धमा रहेको मान्ने गरिएको छ । राष्ट्रियताका मुद्दामा फरक रुपमा आफूलाई स्थापित गरेका गुरुङ पछिल्लो समयमा महासचिवको उम्मेद्वार मध्ये सबैभन्दा बलिया उमेदवारको रुपमा देखा परेका छन् । 

अहिलेसम्म विवादमा नतानिएको स्वच्छ छविका नेता गुरुङको जितको सम्भावना भने धेरै देखिएको छ । महासचिवका बलिया दाबेदार वर्षमान पुन स्वदेश फकिए लगत्तै माओवादीमा अन्य पदाधिकारी छनौट प्रकिया सुरु हुने अनुमान गरिएपनि माओवादी केन्द्रले आधिकारीक जानकारी भने दिएको छैन ।