काठमाडौँ / जनता समाजवादीकी नेतृ तथा भौतिक पूर्वाधार तथा यातायातमन्त्री रेणु यादवले आफ्नो अभिव्यक्तिलाई पूर्वाग्रहपूर्ण ढंगले आआफ्नो तरिकाले अपव्याख्या गरेकोप्रति गम्भीर ध्यानाकर्षण भएको बताएकी छन्। 

रौतहटको गौरमा माघ ५ गते ’बलिदानी दिवसको अवसरमा आयोजित कार्यक्रममा उनले गौरकाण्ड दोहोर्‍याएर जनमत पार्टीका संयोजक सिके राउतको हत्या गर्ने अभिव्यक्ति दिएको भन्दै चौतर्फी विरोध भइरहेको छ। 

OM Sai Pathibhara Hospital

उनलाई मन्त्रीबाट बर्खास्त गर्नुपर्ने माग उठिरहेका बेला सोमबार विज्ञप्ति जारी गरेर मन्त्री यादवले आफ्नो अभिव्यक्तिलाई अपव्याख्या गरेर बुझिएको बताएकी छन्। 

‘हाम्रो पार्टीको भातृ संगठन ‘समाजवादी युवा सङ्घले रौतहटस्थित गौरमा श्रद्धाञ्जली सभाको आयोजना गरेको थियो । त्यस सभामा मैले दिएको अभिव्यक्ति कसैप्रति लक्षित, कुनै पूर्वाग्रह वा दूरासयपूर्ण मानसिकताबाट नभई आपसी मुठभेड नगर्न वा हुन नदिन, कुनै हिंसात्मक गतिविधि हुनबाट जोगाउन र शान्तिपूर्ण विधि र प्रक्रियाबाटै राजनीतिक गतिविधि गर्ने अभिव्यक्तिलाई पछिल्लो समय विभिन्न माध्यमहरु द्वारा कसैकसैले पूर्वाग्रहपूर्ण ढंगले आ–आफ्नो तरिकाले अपव्याख्या गरेकोप्रति मेरो गम्भिर ध्यानाकर्षण भएको छ,’ मन्त्री यादवले सोमबार जारी गरेको विज्ञप्तिमा उल्लेख छ। 

आफ्नो अभिव्यक्ति कसैप्रति हिंसाको प्रयोग नगर्ने र कसैलाई उत्तेजित पार्न नभएको भन्दै उनले सिके राउतलाई मार्ने धम्की नदिएको नाम उल्लेख नगरी बताएकी छन्। 

७ चैत २०६३ मा तत्कालीन नेकपा माओवादी र  मधेशी जनअधिकार फोरमले गौरको राइसमिलमा कार्यक्रम आयोजना गर्दा भएको झडपमा २८ जना मारिएका थिए । सिके राउत नसच्चिए सोही घटना दोहोर्याउने अभिव्यक्ति दिएको भन्दै मन्त्री यादवको चौतर्फी विरोध भइरहेको छ। 

तर, सोमबार उनले विज्ञप्ति जारी गरेर भनेकी छन्, ‘मेरो मन्तव्यलाई लिएर केही भ्रम फैलिएको बुझिन आएकोले सो प्रति गहिरो दुःख व्यक्त गर्दै आफ्नो भनाइ कसैप्रति हिंसाको प्रयोग नगर्ने र कसैलाई उत्तेजित पार्न नभएको व्यहोरा समेत जानकारीका लागि अनुरोध गर्दछु। साथै, उक्त वक्तव्यलाई अतिरञ्जित नगरिदिन हुन विनम्र आग्रह पनि गर्दछु। मेरो वक्तव्य व्यक्तिगत रुपमा कसैप्रति लक्षित नभए पनि त्यस्तो भ्रम पर्न गएकोमा सो प्रति दुःख व्यक्त गर्दछु। साथै यसलाई सामान्य रुपमा लिन हार्दिक अनुरोध पनि गर्दछु । आगामी दिनमा यसप्रति सचेत रहनेछ।’