काठमाडौँ  / निर्वाचन आयोगको पत्रपछि राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले पदाधिकारी बैठक बोलाएको छ । 

आयोगले संविधान प्रतिकुल  ‘राजसंस्था’ र ‘हिन्दु राज्य’ समेटिएको विद्यानलाई मान्यता नदिने जनाउँदै त्यसलाई संसोधन गरेर पुनः पठाउन निर्देशन दिए लगतै राप्रपाले आकस्मिक रुपमा पदाधिकारी बैठक बोलाएको हो ।

OM Sai Pathibhara Hospital

पदाधिकारी बैठकमा निर्वाचन आयोगको निर्देशन र अबको रणनीतिबारे छलफल हुने केन्द्रिय सदस्य मोहन श्रेष्ठले जानकारी दिए । उनका अनुसार  बैठक एक बजे पछि बस्ने छ । 

गत मङ्सिरमा भएको महाधिवेशनबाट नयाँ कार्यसमिति चयन भएसँगै राजनीतिक दल सम्बन्धी ऐन बमोजिम गत १० पुसमा अद्यावधिक गर्नका लागि आयोगलाई महाधिवेसनबाट पारित नयाँ विद्यान पठाएको थियो । तर, राप्रपाको नयाँ विद्यानमा ‘राजसंस्था’ र ‘हिन्दु राज्य’ उल्लेख भएको भन्दै मान्यता नदिने जनाएको छ ।

आयोगले राप्रपालाई पत्र लेख्दै ‘विधानको प्रस्तावनाको बुँदा ४ मा उल्लेखित सनातन हिन्दु राष्ट्र एवं राजसंस्थासहितको प्रजातन्त्रको मान्यता अभिवृद्धि गर्न र कायम गर्न भन्ने वाक्यांश नेपालको संविधानको प्रस्तावना एवं भावनाको प्रतिकूल देखिएकोले सो वाक्यांश हटाई नेपालको संविधानको धारा २६९ तथा राजनीतिक दलसम्बन्धी ऐन, २०७३ अनुकूल हुने गरी उल्लेख गर्नुहोला’ भन्ने निर्देशन दिएको थियो । 

त्यस्तै निर्वाचन आयोगले राप्रपाको झण्डामा रहेको गाई पनि हटाउन निर्देशन दिएको छ। राष्ट्रिय जनवार गाईलाई पार्टी विशेषले प्रयोग गर्न नपाउने उल्लेख गर्दै आयोगले झण्डासमेत फेर्न भनेको हो।

आयोगको निर्णयप्रति पूर्वअध्यक्ष कमल थापाले आपत्ति जनाएका छन्। उनले सामाजिक सञ्जाल ट्वीटरमार्फत भनेका छन्, ‘निर्वाचन आयोगले राप्रपा विधानबाट हिन्दु राष्ट्र र राजसंस्था शब्दावली तथा झण्डाबाट गाई हटाउन दिएको निर्देशन संविधान र प्रजातान्त्रिक मान्यताविपरीत छ। अस्वीकार्य छ।’