काठमाडौँ  / नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले भौतिक पूर्वाधार तथा यातायात मन्त्री रेणु यादवलाई पदमुक्त गर्न प्रधानमन्त्री शेरबहादुर देउवालाई आग्रह गरेका छन् । 

गौर नरसंहार दोहोर्याउने अभिव्यक्ति दिएको भन्दै महामन्त्री शर्माले मन्त्री यादवलाई पदमुक्त गर्न प्रधानमन्त्री देउवा समक्ष आग्रह गरेका हुन् । 

OM Sai Pathibhara Hospital

बलिदानी दिवसका अवसरमा गत बुधबार रौतहटको गौरमा आयोजित कार्यक्रममा मन्त्री यादवले पुनः गौर नरसंहार दोहरिन सक्ने र जनमत पार्टीका अध्यक्ष सीके राउत मारिन सक्ने चेतावनी दिएकी थिइन्। 

कोरोना संक्रमणपछि आइसोलेसनमै बसेका महामन्त्री शर्माले राज्यको जिम्मेवारी पदमा बस्ने व्यक्तिको अभिव्यक्ति र व्यवहार तुलनात्मक रूपले बढी जिम्मेवार हुनुपर्ने भन्दै यादवको अभिव्यक्तिप्रति आपत्ति प्रकट गरेका हुन् । 

उनले हिंसा भड्काउने अभिव्यक्ति जोसुकैबाट आए पनि स्वीकार्य नहुने बताएका छन् । उनले मन्त्री यादवको विवादित अभिव्यक्तिका बारेमा तीन विकल्प दिएका छन् । 

मन्त्री यादवले भूल स्वीकार गरी क्षमायाचना गर्नुपर्ने उनले दिएको पहिलो विकल्प हो । त्यस्तै सम्बन्धित दलले पहलकदमी लिएर राजीनामा गराउनुपर्ने उनको दोस्रो विकल्प हो । 

यदि त्यसो पनि नभएमा पदीय मर्यादाविपरीत अभिव्यक्ति दिएको ठहर गर्दै प्रधानमन्त्रीले पदमुक्त गर्नुपर्ने महामन्त्री शर्माको भनाइ छ ।