काठमाडौँ / आर्सनललाई हराउँदै लिभरपुल लिगकप फुटबलको फाइनलमा पुगेको छ ।

बिहीवार राति भएको दोस्रो लेगमा आर्सनललाई २-० गोल अन्तरमा हराउँदै लिभरपुल ६ वर्षपछि उपाधि नजिक पुगेको हो । लिभरपुलको जितमा डियगो जोटाले दुबै गोल गरे । 

OM Sai Pathibhara Hospital

मोहमद सलाह र सडियो माने बिनै मैदान उत्रिएको लिभरपुलले अब उपाधिका लागि चेल्सीको सामना गर्नेछ ।

खेलको १९ औं मिनेटमा जोटाले गोल गर्दै लिभरपुललाई सुरुआती अग्रता दिलाए । पहिलो हाफसम्म १- ० गोलले अघि रहेको लिभरपुलले दोस्रो हाफमा थप एक गोल गर्दै फाइनल यात्रा निश्चित गरेको हो ।

जोटालेनै दोस्रो हाफको ७७ मिनेटमा गोल गर्दै टिमको अग्रता दोब्बर बनाएका थिए ।

यो सँगै सन् २०१६ को फाइनलमा म्यानचेष्टर सिटीसँग पराजित भएपछि लिभरपुल पहिलो पटक लिगकपको फाइनलमा पुगेको हो । 

एनफिल्डमा आर्सनलले पहिलो लेगमा गोलरहित बराबरी खेल्दै फाइनलको सम्भावना कायम राखेको थियो । तर दोस्रो लेगमा सोही लय समात्न नसक्दा फाइनल सम्भावना टरेको हो ।

प्रतियोगिताको फाइनल आगामी २७ फेब्रुअरीमा वेम्बलीमा हुनेछ। उपाधिका लागि चेल्सी र लिभरपुल भिड्ने छन् ।