काठमाडौं / प्रधानमन्त्री कप टिट्वान्टी राष्ट्रिय क्रिकेट प्रतियोगिताको उपाधि सशस्त्र प्रहरी बल एपीएफले जितेको छ ।

किर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा आज भएको अन्तिम खेलमा एपीएफले नेपाल पुलिस क्लबलाई २१ रनले पराजित गर्दै उपाधिमाथि कब्जा जमाएको हो ।

OM Sai Pathibhara Hospital

यस जितसँगै एपीएफले रु पाँच लाख प्राप्त गरेको छ । त्यस्तै, दोस्रो स्थान हासिल गरेको पुलिसले भने रु तीन लाख प्राप्त गर्यो ।


एपीएफका किशोर महतोले तीन विकेट लिए भने अविनाश बोहोरा, अमर रौटेला र दीपक बोहराले समान एक/एक विकेट हात पारे । त्यसअघि टस हारेर पहिले ब्याटिङ थालेको एपीएफले १९ दशमलव ५ ओभरमा सबै विकेट गुमाउँदै १५७ रनको योगफल बनायो । एपीएफका अमर रौटेलाले सर्वाधिक २९ रनको योगदान दिए । उनले १५ बलमा ३ छक्का र २ चौका प्रहार गरे ।

यस्तै, लोकेश बमले २७ रन जोड्दा सन्दीप जोराले २४ रन बनाए । कप्तान शरद भेषवाकर १९ रन बनाएर आउट भए । भुवन कार्कीले १७ रन जोडे । आसिफ शेखले ९, प्रदीप ऐरीले ७, दीपक बोहराले ६ रन तथा पुरण बिक शून्य रनमा आउट भए ।

त्यस्तै, किशोर महतो ८ रनमा आउट हुँदा अविनाश बोहरा १ रनमा अविजित रहे । बलिङतर्फ पुलिसका दीपेन्द्र सिंह ऐरी र सागर ढकालले समान तीन/तीन विकेट लिए भने गुलसन झाले २ विकेट लिए । त्यस्तै, आरिफ शेख र योगेन्द्र सिंह कार्कीले समान एक/एक विकेट झारे ।

सेमिफाइनल खेलमा एपीएफले त्रिभुवन आर्मी क्लबलाई ४७ रनले पराजित गर्दै फाइनलमा पुगेको थियो भने पुलिसले बागमती प्रदेशलाई ५० रनले पराजित गर्दै फाइनल यात्रा तय गरेको हो । गत पुस २६ गतेदेखि सुरुआत भएको उक्त प्रतियोगितामा तीन विभागीय टोली र सात प्रदेश गरी दश टोलीको सहभागिता थियो ।