काठमाडौं / कोरोना भाइरसको महामारी पुनः बढ्दै गइरहेका कारण नेकपा एमालेले पार्टी र जनसङ्गठनका सम्पूर्ण कार्यक्रम स्थगित गरेको छ ।  

पार्टीको प्रदेश अधिवेशन, बाँकी रहेका जिल्ला अधिवेशनका साथै जनसङ्गठनका महाधिवेशन, अधिवेशन लगायतका कार्यक्रमहरू स्थगित गरिएको एमाले कार्यालय सचिव डा. भीष्मराज अधिकारीले बताएका छन् । 

OM Sai Pathibhara Hospital

२५ जनाभन्दा बढी मान्छे सहभागी हुने सबै प्रकारका कार्यक्रम स्थगित गरेपनि सो सङ्ख्याभन्दा बढी सहभागी हुने जुम बैठक, छलफल गर्न सकिने जनाएको छ । बुधबार सचिव अधिकारीले प्रदेश, जिल्ला, जनसङ्गठनलाई पत्राचार गर्दै पूर्व निर्धारित कार्यक्रमहरू स्थगित गर्न निर्देशन दिएको बताएका छन्  ।

पार्टीका आन्तरिक बैठक, भेला, छलफल जस्ता कार्यक्रम आवश्यक सतर्कता अपनाई आयोजना गर्न र स्थानीय नेता–कार्यकर्ता र जनप्रतिनिधिले महामारी विरुद्ध आवश्यक सतर्कता अपनाउँदै जनताको सेवामा सक्रिय रहन पनि एमालेले आग्रह गरेको छ।

एमालेले यही माघभित्र सबै प्रदेशमा अधिवेशन र आगामी फागुन मसान्तभित्र जनसङ्गठनका महाधिवेशन सम्पन्न गर्ने कार्ययोजना अघि सारेकामा ती प्रभावित भएका छन्। गत पुस २३ गते हुन नसकेका जिल्ला अधिवेशनहरु करिब २० जिल्लाको अधिवेशन पनि पर सरेको छ।