पोखरा  / कोरोना महामारीका कारण सरकारले स्वास्थ्य सुरक्षामा कडाइ गर्दै जाँदा पोखरामा राष्ट्रिय–अन्तर्राष्ट्रिय अन्तरक्लब फुटबल प्रतियोगिता हुँदैछ । 

सहारा क्लब पोखराले बर्सेनि आयोजना गर्दै आएको आहारारा गोल्डकपको २० औँ संस्करण माघ ६ देखि १५ गते सम्म पोखरा रङ्गशालामा हुन लागेको हो । 

OM Sai Pathibhara Hospital

कोरोना महामारीले पूर्व निर्धारित मेला, महोत्सव धमाधम स्थगित हुँदै जाँदा आयोजक सहारा क्लब पोखराले जसरी पनि प्रतियोगिता गर्न आफूहरू अन्तिम तयारीमा रहेको जनाएको छ।

मंगलबार आयोजित पत्रकार सम्मेलनमा प्रतियोगिता संयोजक केशवराज बरालले भने , –‘रंगशालामा दर्शकको उपस्थिति न्यून हुने सम्भावना भए पनि प्रतियोगिता रोक्दैनौं, स्वास्थ्य सुरक्षा मापदण्ड पालना गर्दै प्रतियोगितालाई निरन्तरता दिने छौं ।’ 

जिल्ला प्रशासन कार्यालयले सोमबार जारी गरेको आदेशअनुसार रङ्गशालामा एकतिहाइ दर्शक राखेर प्रतियोगिता गर्न सकिने उल्लेख छ । 

रङ्गशालाको प्यारापिट १६ हजार दर्शक क्षमताको भएकोले भौतिक दूरी कायम गर्न सकिने आयोजकको विश्वास छ । क्याराभानसहित २ दशकको यात्रामा आयोजकले जस्तोसुकै विषम परिस्थितिबीच पनि प्रतियोगिता स्थगित गरेको छैन।

१० टिमले भाग लिने प्रतियोगिताको उद्घाटन खेल आयोजक र नेपाल एपीएफ क्लबबीच हुनेछ । विजेतालाई १० लाख र उपविजेतालाई ५ लाख दिइनेछ ।