काठमाडौं / ब्याडमिन्टनमा इतिहास रचेर नेपालका प्रिन्स दाहाल विश्व ब्याडमिन्टनको जुनियरतर्फको वरियतामा शीर्ष स्थानमा उक्लिएका छन ।

विश्व ब्याडमिन्टन महासङ्घले जारी गरेको पुरुष जुनियरतर्फको बरियता अनुसार १९ वर्षीय दाहाल पहिलो पटक शीर्ष स्थानमा उक्लिएका  हुन । उनको १० हजार पाँच सय अङ्क रहेको छ ।

OM Sai Pathibhara Hospital

महासङ्घले जारी गरेको बरियता अनुसार जुनियरतर्फ दोस्रो वरियतामा मलेसियाका जस्टिन होह छन । उनको नौ हजार पाँच सय ९० अङ्क रहेको छ । यस्तै मलेसियाकै फाजरिक मोहमद रजिफ छ हजार नौ सय २५ अङ्कसहित तेस्रो स्थानमा छन ।

फ्रान्सका एलेक्स लानिर छ हजार सात सय अङ्कका साथ चौथो तथा भारतका एस शङ्कर मुथुसामी सुब्रमन्यम छ हजार ३४० अङ्कसहित पाँचौँ स्थानमा छन ।

विश्व ब्याडमिन्टनको जुनियरतर्फ शीर्ष खेलाडी बनेपछि दाहालले कुरा गर्दै आफ्नो सपना पूरा भएको बताए । उनले आफू विश्वकै एक नम्बर खेलाडी बन्ने उद्देश्यका साथ खेल्दै आएको र त्यो पूरा हुँदा अत्यन्त खुसी लागेको बताए । अबको ध्यान बरियतालाई कायमै राख्न तर्फ रहने भन्दै दाहालले भविष्यमा सिनियर ब्याडमिन्टन प्रतियोगितामा समेत प्रदर्शन राम्रो गर्दै जाने बताएका छन ।

नेपालमा प्रतियोगिताको अभाव तथा राम्रो प्रशिक्षण पाउन मुस्किल भएको दाहालको गुनासो छ । राज्यले खेलाडीका लागि उचित वातावरण बनाइदिनुपर्ने उनको भनाइ छ । कोरोना महामारीका कारण लामो समयदेखि प्रतियोगिता र प्रशिक्षणबाट वञ्चित रहनुपरेको दाहाल बताउँछन । पाँच वर्षको उमेरमै दार्चुलाबाट ब्याडमिन्टन खेल्न थालेका दाहाल हाल काठमाडौँमै अध्ययनरत छन ।

नेपालका जुनियर खेलाडी दाहालले पाएको यो नै नेपाली ब्याडमिन्टनले हालसम्म पाएको सर्वाधिक ठूलो सफलता हो । व्यक्तिगत तथा देशकै लागि उल्लेख्य उपलब्धि भएको दाहालका मामा एवं व्यवस्थापक कमलेश निरौलाको ठम्याइ छ । ब्याडमिन्टन प्रशिक्षक जयन्त श्रेष्ठले दाहालको सफलताले अन्य नेपाली ब्याडमिन्टन खेलाडीलाई हौसला मिलेको बताए । दाहालको सफलताले नेपालको समग्र खेल जगत्लाई नै उत्साहित बनाएको श्रेष्ठको भनाइ छ ।

दाहाल हालसम्म कुनै पनि विभागीय क्लबमा आबद्ध छैनन् । उनी सुदूरपश्चिम प्रदेशबाट नै ब्याडमिन्टन खेल्दै आएका छन । वि सं २०७६ मङ्सिरमा जारी विश्व वरियतामा दाहाल पहिलोपटक ३२ औँ स्थानमा रहन सफल भएका थिए । त्यही वर्ष पुसमा जारी वरियतामा उनी १४ औँ स्थानमा तथा पुस अन्तिम साताको वरियतामा दाहाल १० औँ स्थानमा उक्लिएका थिए ।

वि सं २०७६ चैतमा महासङ्घले जारी गरेको वरियतामा दाहाल सातौँ स्थान तथा गत वर्ष माघमा उनी तेस्रो स्थानमा उक्लिन सफल भएका थिए । त्यतिबेला दाहालभन्दा अब्बल डेनमार्कका म्याडम जोइल मुलर तथा भारतका वरुण कपुर छन । मुलर शीर्ष स्थानमा तथा कपुर दोस्रो स्थानमा रहेका छन । दुवै जना हाल सिनियर प्रतियोगिता खेल्दै आएका छन ।

विश्व ब्याडमिन्टन महासङ्घले प्रत्येक साता विश्वभरका जुनियर तथा सिनियर खेलाडीको बरियता सार्वजनिक गर्ने गरेको छ । दाहाल हाल ललितपुरको लगनखेलस्थित पिनागल कलेजमा कक्षा ११ मा अध्ययनरत छन । यस्तै विश्व ब्याडमिन्टन महासङ्घले जारी गरेको जारी गरेको महिला जुनियरतर्फको बरियता अनुसार नेपालकी महिला खेलाडी रसिला महर्जन १९औँ स्थानमा पर्न सफल भएका छन ।