बिर्तामोड / मेचीनगरको धुलावारी माध्यमिक विद्यालयलाई विदेशमा अध्ययनरत नेपाली विद्यार्थीले छात्रवृत्तिका लागि सहयोग गरेका छन् ।
कक्षा १ देखि १२ सम्म अध्ययन गरिरहेका विपन्न समुदायका ३९ विद्यार्थीलाई छात्रवृत्ति उपलब्ध गराउन अमेरिका र युरोपमा अध्ययनरत नेपाली विद्यार्थीले किन्जल फाउण्डेसन नेपालमार्फत सहयोग गरेका हुन् ।
विद्यार्थीले फाउण्डेसनमार्फत रु तीन लाख १६ हजार सहयोग गरेको प्रधानाध्यापक महेन्द्र विलाश लुइँटेलले जानकारी दिए । छात्रवृत्ति वितरणका लागि फाउण्डेसनका संयोजक आशिष लामिछाने र प्रधानाध्यापक लुइँटेलले सम्झौतापत्रमा हस्ताक्षर गरेका छन् ।
संयोजक लामिछानेले आर्थिक अभावले पढाइ छाड्न बाध्य विपन्न समुदायका विद्यार्थीलाई सहयोग गर्न सहयोग गरिएको बताए ।






































