जनकपुर / प्रदेश –२ को स्थायी राजधानी र नामका लागि मतदान हुने भएको छ ।

सभामुख सरोजकुमार यादवले माघ दुई गतेका लागि बोलाएको प्रदेशसभा बैठकमा नाम र राजधानीको प्रस्तावमा मतदान गर्ने सहमति भएको हो । 

OM Sai Pathibhara Hospital

प्रदेशको नाम र राजधानी सम्बन्धी आएका फरक–फरक प्रस्तावमा सहमति जुटाउनका लागि प्रदेशसभाले सभामुख यादवको संयोजकत्वमा १६ सदस्यीय प्रदेशको नामकरण र राजधानी सम्बन्धी विशेष अध्ययन समिति गठन गरेको थियो । 

सो समितिले प्रदेशसभामा दर्ता भएको प्रदेशको नाम मधेस, जानकी, मिथिला भोजपुरा, मध्य मधेस र राजधानीको प्रस्ताव जनकपुर र वीरगन्ज माथि सांसदहरूबीच छलफल सकेर संसदीय दलका नेतासँग छलफल गरेका थिए । 

तर कुनै प्रस्तावमा सहमति नभएपछि मतदानका लागि सहमति भएको प्रदेशसभा सचिवालयका सचिव रञ्जितकुमार यादवले जानकारी दिए । 

प्रदेशको नाम र स्थायी राजधानीको प्रस्ताव पारित हुन प्रदेशसभामा दुई तिहाइ बहुमत आवश्यक छ । तर, दलहरूबीच प्रदेशको राजधानी जनकपुर कायम गर्नुपर्नेमा करिब करिब सहमत रहेपनि नामको विषयमा फरक–फरक प्रस्ताव आएका छन् । 

सत्तारुढ जनता समाजवादी पार्टी, नेकपा (माओवादी) र प्रमुख प्रतिपक्षी दल लोकतान्त्रिक समाजवादी पार्टीले प्रदेशको नाम मधेस प्रदेश राख्नुपर्ने प्रस्ताव गरेका छन् । 

एक सय सात सदस्यीय प्रदेशसभामा तीनै दलको सदस्य संख्या जोड्दा ६३ जना पुग्छ । तर प्रस्ताव पारित गर्न ७० सांसद चाहिने देखिन्छ । 

त्यस्तै सत्तारुढ नेकपा (एकीकृत समाजवादी) पार्टी र प्रतिपक्षी दल नेकपा (एमाले)ले प्रदेशको नाम जानकी राख्नुपर्ने प्रस्ताव गरेको छ । ती दुबै दलको प्रदेशसभामा २१ जना सांसद छन् भने प्रदेशको नाम मिथिला भोजपुरा प्रस्ताव गरेको नेपाली कांग्रेससँग १९ प्रदेशसभा सदस्य छन् । 

यसबाहेक नेपाली कांग्रेसकै राजेश्वरप्रसाद साहले प्रदेशको नाम मध्य मधेश प्रस्ताव गरेका छन् । 

यसअघि गत ०७७ चैत्र ५ गते प्रदेश २ को राजधानी र नामकरणको विषयमा प्रदेशसभामा मतदान भएको थियो । त्यतिबेलै प्रदेशको राजधानी जनकपुर राख्ने विषयमा सहमति नजिक पुगेका राजनीति दलहरूबीच नामकरणमा सहमति नभएपछि मतदान प्रक्रियाबाटै दुबै विषय टुङ्ग्याउने भन्दै मतदान गरेका थिए ।

त्यतिखेर दुई तिहाइ बहुमत नपुगेपछि राजधानी र नामाकरणको प्रस्तावसमेत पारित हुन सकेको थिएन ।