काठमाडौँ / प्रधानमन्त्री कप टी २० क्रिकेट प्रतियोगिता अन्तर्गत मंगलबार भएको विभागीय डर्बीमा नेपाल पुलिस क्लबले त्रिभुवन आर्मी क्लबलाई ४ विकेटले पराजित गरेको छ ।

प्रतियोगितामा पुलिसको यो लगातार दोस्रो जित हो । २ खेलबाट ४ अंक सहित पुलिस समूह ए मा शीर्ष स्थानमा छ । आर्मीको भने यो पहिलो हार हो ।

OM Sai Pathibhara Hospital

पुलिसले आफ्नो पहिलो खेलमा सुदूरपश्चिम प्रदेशलाई २ रनले पराजित गरेको थियो । आर्मीले भने सोमबार पहिलो खेलमा कर्णाली प्रदेशलाई ६३ रनले पराजित गरेको थियो । 

मङ्गलबारको खेलमा जितका लागि चाहिएको १ सय ३८ रनको लक्ष्य पुलिसले १८ ओभरमा ६ विकेट गुमाएर पुरा गर्यो । पुलिसका लागि कुशल भुर्तेलले ३५ रन जोडे । उनले २२ बलको सामना गर्दा पाँच चौका र एक छक्का हिर्काए । 

रासिद खानले १९ बलमा २८ रन बनाए । उनले चार चौका र एक छक्का प्रहार गरे । दिलिप नाथले २५ रनमा अविजित रहे । अनिल साहले २२ रनको योगदान गरे । अनिलले ११ बल खेल्दै एक चौका र दुई छक्का प्रहार गरेका थिए । 

आर्मीका लागि साहाव आलमले सर्वाधिक तीन विकेट हात पारे । जितेन्द्र मुखियाले दुई र कुशल मल्लले एक विकेट लिए । यस अघि टस हारेर पहिले ब्याटिङ गरेको आर्मी निर्धारित ओभरको एक बल बाँकी छँदा १ सय ३७ रनमा अलआउट भएको थियो । 

आर्मीका लागि कप्तान विनोद भण्डारीले सर्वाधिक ४४ रन जोड्दा सोमपाल कामीले ४२ रनको योगदान गरे । पुलिसका करण केसीले सर्वाधिक चार विकेट हात पारे । 

गुल्सन झा र योगेन्द्र सिंह कार्कीले समान दुई/दुई विकेट लिँदा आरिफ शेख र दिपेन्द्र सिंह ऐरीले एक/एक विकेट हात पारे ।