काठमाडौं  / राष्ट्रिय सभा सदस्य चुनाव अन्तर्गत आज उम्मेदवारको अन्तिम नामावली प्रकाशन हुँदैछ ।

बिहान १० बजेदेखि १२ बजेसम्म उम्मेदवारको अन्तिम नामावली प्रकाशन गर्ने कार्यक्रम रहेको निर्वाचन आयोगले जनाएको छ । 

OM Sai Pathibhara Hospital

आजै मध्यान्ह १२ बजेदेखि अपरान्ह ४ बजेसम्म उम्मेदवारलाई चुनाव चिन्ह प्रदान गर्ने कार्यक्रम रहेको आयोगले जनाएको छ । माघ १२ गते हुने राष्ट्रिय सभा सदस्य चुनावका लागि १९ पदमा ९ दलका ४३ जनाले उम्मेदवारी दिएका छन् । 

तोकिएका मतदान केन्द्रमा माघ १२ गते बिहान ९ बजेदेखि दिउँसो ३ बजेसम्म मतदान हुनेछ । सो चुनावबाट ७ महिला, ३ दलित, २ अपांगता भएका व्यक्ति वा अल्पसंख्यक र सात अन्य समूहका उम्मेदवार निर्वाचित हुनेछन् ।

फागुन २० गते रिक्त हुने १९ सदस्य पदका लागि राष्ट्रिय सभा सदस्यको चुनाव हुन लागेको हो । एमालेका ८, एकीकृत समाजवादीका ४, नेकपा माओवादी केन्द्रका ४, कांग्रेसका ३ र १ जना मनोनीतको कार्यकाल फागुन २० मा सकिँदैछ । 

राष्ट्रिय सभा सदस्यको पदावधि सकिनु ३५ दिन अगावै निर्वाचन गरिसक्नुपर्ने संवैधानिक व्यवस्था बमोजिम आयोगले माघ १२ मा चुनावको मिति तोकेको छ । 

राष्ट्रिय सभा सदस्य चुनावमा प्रदेश सांसद, स्थानीय तहका प्रमुख–उपप्रमुख मतदाता रहनेछन् । तिनको मतभार भने फरक–फरक हुनेछ । 

राष्ट्रिय सभा चुनावका लागि स्थानीय तहमा १ हजार ४ सय ९३ जना र प्रदेश सभामा ५ सय ३२ गरेर २ हजार २५ मतदाता छन् ।