काठमाडौँ  / नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र नेता नारायणकाजी श्रेष्ठलाई कोरोना संक्रमण भएको छ । 

स्वास्थ्यमा केही असहजता देखिएपछि शुक्रबार साँझ पीसीआर परीक्षण गर्दा दाहाललाई कोरोना संक्रमण पुष्टि भएको उनको सचिवालयले जनाएको छ ।

OM Sai Pathibhara Hospital

सचिवालयका अनुसार कोरोना संक्रमण भए पनि प्रचण्डको अवस्था सामान्य रहेको छ । 

माओवादीका अर्का नेता नारायणकाजी श्रेष्ठलाई पनि कोरोना संक्रमण पुष्टि भएको छ । आफूलाई कोरोना संक्रमण भएकोले आइसोलेसनमा बसेको नेता श्रेष्ठले बताएका छन् ।

श्रेष्ठले सामाजिक सञ्जाल फेसबुकमा लेखेका छन्– ‘कम्तिमा १४ दिन आइसोलेसनमा नै रहनेछु । हालसालै मसँग प्रत्यक्ष सम्पर्कमा रहनुभएका सबैलाई आवश्यक सावधानी अपनाउन विनम्रतापूर्वक अनुरोध गर्दछु ।’

त्यस्तै दाहालका स्वकीय सचिव रमेश मल्ल, वाईसिएलका इन्चार्ज रामप्रसाद सापकोटा, वाईसीएलका संयोजक सुमन देवकोटा, सुवोध शेर्पालीलाई पनि कोरोना संक्रमण भएको छ ।

केही दिन पहिले केन्द्रीय कार्यालयका कर्मचारीलाई कोरोना संक्रमण भएको थियो । केन्द्रीय कार्यालय सचिव डोरप्रसाद उपाध्यायसहितका कर्मचारीलाई कोरोना पुष्टि भएको थियो । 

त्यस्तै कार्यालयका अन्य कर्मचारी यविन्द्र पराजुली, सञ्जीव थापा, विनोद थापा, अंशु थापा र शिवकुमार बस्नेतलाई संक्रमण पुष्टि भएको थियो ।