विराटनगर  / नोबेल मेडिकल कलेजले अतिरिक्त शुल्क लिएको भन्दै आन्दोलनरत विद्यार्थीहरूले शुक्रबार राजमार्ग बन्द गरेका छन् । 

मनोमानी शुल्क असुली फिर्ता हुनुपर्ने माग गर्दै कलेजका विद्यार्थी तथा अन्य विद्यार्थी सङ्गठनले कञ्चनबारी चौकमा सडक अवरुद्ध गरेका हुन् ।

OM Sai Pathibhara Hospital

विद्यार्थीहरूले नोबेलको मनोमानी विरुद्ध विभिन्न नारासहितका प्लेकार्ड बोकेर सडकमा बसेका छन् । उनीहरूको आन्दोलनका कारण सवारी आवागमन अवरुद्ध बनेको छ ।

नोबेल मेडिकल कलेजले नोबेलमा एमबीबीएस अध्ययनरत विद्यार्थीसँग विभिन्न शीर्षकमा अतिरिक्त शुल्क बुझाउन दवाव दिदैं आएको छ । अतिरिक्त शुल्क बुझाउन नमानेका विद्यार्थीलाई कक्षाकोठा प्रवेशमा रोक लगाइएको छ ।

विभिन्न चरणका आन्दोलन, माग सम्बोधन प्रस्ताव, छलफलबाट निकालिएको निष्कर्षलाई समेत वेवास्ता गरेपछि राज्यलाई दवाव पुग्ने गरी सडकमा विद्यार्थीहरू आएका हुन् । 

राजनीतिक दल र सरकारको संरक्षण रहेका कारण कलेजका सञ्चालक सुनिल शर्माले विद्यार्थीको माग सम्बोधन गर्ने मनसाय नराखेका कारण आन्दोलनले झन् उचाइ लिन थालेको हो ।

चिकित्सा शिक्षा आयोगले तोकेकोभन्दा बढी शुल्क लिएको भन्दै एमबीबीएस पढ्ने विद्यार्थीहरू आन्दोलित छन् । उनीहरूले कलेज प्रशासन शाखामा तालाबन्दीसमेत गरेका छन् ।