काठमाडौँ / नेपाली कांग्रेसका केन्द्रीय सदस्य विनोद चौधरीविरुद्ध निर्वाचन आयोगमा उजुरी परेको छ । केन्द्रीय सदस्य पद खारेजीको माग गर्दै चौधरीविरुद्ध आयोगमा उजुरी परेको हो । 

कांग्रेसको १४औँ महाधिवेशनबाट केन्द्रीय सदस्यमा निर्वाचित चौधरीविरुद्ध सिराहा क्षेत्र नम्बर ३ का महासमिति सदस्य प्रभाषचन्द्र यादवले बुधबार आयोगमा उजुरी दर्ता गराएका हुन् ।

OM Sai Pathibhara Hospital

चौधरी विधानविपरीत केन्द्रीय सदस्य बनेको दाबी गर्दै यादवले उक्त क्षेत्रबाट केन्द्रीय सदस्यमा आफ्नो दाबेदारी समेत प्रस्तुत गरेका छन् । चौधरी मधेशी कोटाबाट कांग्रेसको केन्द्रीय सदस्यमा निर्वाचित भएका थिए । 

विधानमा १० वर्ष निरन्तर कांग्रेसको क्रियाशील सदस्य भएको महाधिवेशन प्रतिनिधि मात्र केन्द्रीय सदस्य उम्मेदवार हुन पाउने उल्लेख भएको बताउँदै यादवले चौधरीको उक्त अवधि नपुग्ने दाबी गरेका छन्।

चौधरीविरुद्ध कांग्रेस केन्द्रीय निर्वाचन समितिमा निवेदन दिँदा सुनुवाइ नभएकोले आयोग आउनुपरेको निवेदनमा यादवले उल्लेख गरेका छन्।