काठमाडौं / त्रिभुवन विश्वविद्यालयका पूर्वउपकुलपतिहरूले त्रिविको शैक्षिक गुणस्तर खस्किएको बताएका छन्। यसो हुनुमा विश्वविद्यालयका पदाधिकारी र प्राध्यापक जिम्मेवार रहेको उनीहरूको आरोप थियो।

त्रिवि एलुम्नाई एशोसिएसनको बुधबार कीर्तिपुरमा आयोजित तेस्रो वार्षिक साधारण सभाका क्रममा पूर्वउपकुलपतिहरू महेशनाथ उपाध्याय, केदारभक्त माथेमा र डा.तीर्थराज खनियाँले विश्वविद्यालयको हितका लागि पदाधिकारीले अडान लिन नसकेका कारण शैक्षिक गुणस्तर खस्केको दाबी गरेका थिए।

OM Sai Pathibhara Hospital

उनीहरूले अहिले पनि शैक्षिक उन्नयनको बाटोमा लैजानका लागि विश्वविद्यालयका पदाधिकारीलाई खबरदारी गर्ने र विकृति विसङ्गतिविरुद्ध आवाज उठाउने काम एलुम्नाई एशोसिएसनले गर्नुपर्ने बताए।

एशोसिएसनका अध्यक्ष सुनीति हाडा, प्राध्यापक डा सुदर्शनराज तिवारी, प्रा डा रामप्रसाद खतिवडा, नेपाल उद्योग वाणिज्य महासङ्घका पूर्वअध्यक्ष प्रदीपकुमार श्रेष्ठलगायतले विश्वविद्यालयमा अनुसन्धानको कार्य कम भएको र बजारका लागि आवश्यक जनशक्ति उत्पादन हुन नसकेको बताए।

त्रिविका पूर्वविद्यार्थीको सङ्गठनका रुपमा एशोसिएसन २०७४ सालमा स्थापना भएको थियो।