काठमाडौँ  / राष्ट्रिय सभा सदस्य निर्वाचनका लागि मंगलबार उम्मेदवारी दर्ता सम्पन्न भएको छ । 

आगामी माघ १२ गते हुने राष्ट्रिय सभाका १९ सदस्य चुन्न हुने चुनावका लागि ४३ जनाले मनोनयन दर्ता गराएका छन् । 

OM Sai Pathibhara Hospital

निर्वाचन आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलका अनुसार महिला ७, दलित ३, अपांगता भएका एवं अल्पसंख्यक दुई र अन्य समूहका सात सिटका लागि माघ १२ मा हुने चुनावका लागि मंगलबार उम्मेदवारी दर्ता गरिएको हो ।

उम्मेदवारी दर्ताका आधारमा सातै प्रदेशमा सत्ता गठबन्धन (कांग्रेस, माओवादी केन्द्र, एकीकृत समाजवादी, जनता समाजवादी पार्टी, जनमोर्चा) र एमालेका उम्मेदवारबीच प्रतिस्पर्धा हुने देखिएको छ ।

२०७४ मा भएको राष्ट्रिय सभा निर्वाचनमा विजयी भएर ४ वर्षे कार्यकाल पूरा गर्न लागेकाहरूका स्थानमा चुनाव हुन लागेको हो ।

चुनावमा प्रदेशसभा सदस्य र स्थानीय तहका प्रमुख र उपप्रमुख गरी २ हजार २५ मतदाता छन् । प्रदेशसभा सदस्य १ जनाको मतभार ४८ र पालिकाका प्रमुख–उपप्रमुख तथा अध्यक्ष–उपाध्यक्षको मतभार १८ हुन्छ ।

प्रदेश १ मा महिला, अपाङ्गता भएका वा अल्पसंख्यक र अन्य गरी तीन पदका लागि आठ जनाले उम्मेदवारी दिएका छन् । 

गठबन्धनका तर्फबाट एकीकृत समाजवादीकी जयन्ती देवी राई, जसपाका हेमराज राई, कांग्रेसका गोपालकुमार बस्नेतले उम्मेदवारी दिएका छन् । 

एमालेका तर्फबाट सुमित्रा सुवेदी भण्डारी, सोनाम गेल्जेन शेर्पा र गुरुप्रसाद बराल प्रतिस्पर्धामा उत्रिएका छन् । राप्रपाका रञ्जु प्याकुरेल र अमरबहादुर विष्टको पनि उम्मेदवारी परेको छ । 

प्रदेश २ बाट रिक्त हुने २ पदका लागि ५ जनाले उम्मेदवारी दर्ता गराएका हुन् । गठबन्धनका तर्फबाट माओवादी केन्द्रकी उर्मिला अर्याल र जनता समाजवादी पार्टीका महमद खालिदले उम्मेदवारी दर्ता गराएका हुन् । लोकतान्त्रिक समाजवादी पार्टीबाट रूपाकुमारी यादवले उम्मेदवारी दर्ता गराएकी छन् ।

लोसपाबाट श्यामसुन्दर सरदारले उम्मेदवारी दिए पनि प्रदेशसभाको समानुपातिक सूचीमा पनि नाम भएकाले रद्द गरिएको निर्वाचन कार्यालय प्रमुख पुष्पा झाले बताइन् । 

एमालेबाट विना देवी र उसमान अन्सारीले उम्मेदवारी दर्ता गराएका छन् । यस प्रदेशबाट माओवादी केन्द्रबाट निर्वाचित शशिकला दाहाल र एमालेबाट चुनिएका सुमन प्याकुरेलको ४ वर्षे पदावधि पूरा हुन लागेको हो ।

वाग्मती प्रदेशमा गठबन्धनका तर्फबाट महिलामा समाजवादीकी गोमादेवी तिमल्सिना, अन्यमा कांग्रेसका कृष्णप्रसाद पौडेलले उम्मेदवारी दिएका छन् । 

उनीहरूको प्रतिस्पर्धीका रूपमा एमालेकी नीरकुमारी कुँवर र गोपाल शाक्यले उम्मेदवारी दिएका छन् । नेपाल मजदुर किसान पार्टीका गीता काफ्ले र कृष्णबहादुर तामाङको पनि उम्मेदवारी परेको छ । 

गण्डकीमा महिला एक, दलित एक र अन्य एक सिटमा ६ जनाले उम्मेदवारी दिएका छन् । गठबन्धनका तर्फबाट काङ्ग्रेसकी कमला पन्त, माओवादीका भुवनबहादुर सुनार र सुरेश आलेमगरले उम्मेदवारी दिएका छन् । एमालेबाट लीला पोखरेल थनेत, अर्जुनकुमार सुनाम र पुण्यप्रसाद पौडेलको उम्मेदवारी परेको छ ।

यसअघि यहाँबाट निर्वाचित राष्ट्रिय सभा सदस्यहरू माओवादी केन्द्रका दीनानाथ शर्मा, दलित समूहबाट खिमकुमार विक र महिलाबाट एकीकृत समाजवादीकी शान्तिकुमारी अधिकारी जीसीको ४ वर्षे कार्यकाल सकिन लागेको हो । 

लुम्बिनीमा महिला, दलित र अन्य गरी तीन पदका लागि हुने चुनावमा ६ जनाको उम्मेदवारी परेको छ । गठबन्धनका तर्फबाट अन्यमा कांग्रेसका युवराज शर्मा, महिलामा समाजवादीकी राजेन्द्रलक्ष्मी गैरे र दलितमा राष्ट्रिय जनमोर्चाका तुलप्रसाद विश्वकर्माले उम्मेदवारी दिएका छन् । एमालेबाट दलितमा कृष्ण सुनार, महिलामा भारती उपाध्याय खनाल र अन्यमा रामदयाल गुप्ता प्रतिस्पर्धामा उत्रेका छन् । 

कर्णाली प्रदेशमा महिला, अपांगता वा अल्पसंख्यक र अन्य एक गरी तीन पदका लागि हुने निर्वाचनमा ६ जनाले उम्मेदवारी दिएका छन् । एमालेबाट अपांगता वा अल्पसंख्यकमा पदमबहादुर माझी, महिलामा गंगा थापा (महत) र अन्यमा चूडामणि शर्माको उम्मेदवारी परेको हो । 

गठबन्धनका तर्फबाट महिलामा काङ्ग्रेसकी दुर्गा गुरुङ र अपांगतातर्फ माओवादीका नरबहादुर विष्ट र अन्यतर्फ एकीकृत समाजवादीका उदय बोहरा प्रतिस्पर्धामा उत्रिएका छन् । 

त्यहाँबाट यसअघि निर्वाचित राष्ट्रिय सभा सदस्यहरू कविता बोगटी (हुम्ला), जीवन बुढा (कालीकोट) र ठगेन्द्रप्रकाश पुरी (रुकुम पश्चिम) को पदावधि सकिँदै छ ।

सुदूरपश्चिममा तीन पदका लागि पनि ६ जना प्रतिस्पर्धामा देखिएका छन् । गठबन्धनले अन्यमा कांग्रेसका नारायणदत्त मिश्र, दलितमा माओवादीका जगतबहादुर पार्की र महिलामा एकीकृत समाजवादीका मदनकुमारी शाह (गरिमा) लाई उठाएको छ । 

उनीहरूसँग एमालेका नरेशकुमार विश्वकर्मा दलितमा, सन्तोषकुमारी शर्मा (थापा) महिलामा र डिल्लीराज भट्टले अन्यमा उम्मेदवारी दिएका छन् ।

सुदूरपश्चिम प्रदेशबाट राष्ट्रिय सभामा प्रतिनिधित्व गर्ने शेरबहादुर कुँवर अछाम, चक्रप्रकाश स्नेही र तारादेवी भट्टको पदावधि सकिँदै छ । 

निर्वाचन कार्यक्रमअनुसार पुस २५ मा उम्मेदवारको अन्तिम नामावली प्रकाशन तथा उम्मेदवारलाई निर्वाचन चिन्ह प्रदान गरिनेछ ।