बिर्तामोड / माओवादी केन्द्रको महाधिवेशन सम्पन्न भएपनि अझै सम्म पदाधिकारी चयन हुन सकेको छैन । केन्द्रिय सदस्य चयन गर्दै सकिएको महाधिवेशन पछि बसेको पहिलो बैठकले अध्यक्षमा प्रचण्डलाई सर्वसम्मत रुपमा चयन गरेको भएपनि बाँकी पदाधिकारीका विषयमा भने नेताहरू बिचको हानाथाप नेतृत्व चयन हुन नसकेको हो ।

OM Sai Pathibhara Hospital

अध्यक्ष पछिको मुख्य कार्यकारी पद मानिएको महासचिवमा नेताहरू बिच सहमति नजुटेपछि यस अघि कुनै पनि पदमा आकांक्षा नदेखाएका नेता देव गुरुङले आफूलाई दाबेदारका रुपमा प्रस्तुत गरेपछि अध्यक्ष प्रचण्ड समेत सङ्कटमा परेका छन् ।

महाधिवेशनको समयमा महासचिवका लागि आकांक्षा देखाएका नेताहरू जर्नादन शर्मा , पम्फा भूषाल , वर्षामान पुन र हरिबोल गजुरेलबिच सहमति हुन नसकेपछि प्रचण्डले नै देव गुरुङलाई अघि बढाएको समेत अनुमान गर्न थालिएको छ ।

अर्थमन्त्री समेत रहेका नेता शर्माले महासचिव नछाड्ने निर्वाचनको सामना गर्ने बताएपछि प्रचण्डले पनि चिनमा उपचाररत नेता पुनलाई नेपाल बोलाउँदै उनी नआउन्जेल सम्मका लागि नेतृत्व छनौट प्रकृया नै स्थगित गराएर देव गुरुङलाई समाधानका लागि नयाँ विकल्पका रुपमा प्रचण्डले नै अघि बढाएको माओवादी वृत्तमा चर्चामा चलेको छ ।

अध्यक्ष प्रचण्डसँगको छलफलका क्रममा महासचिवका आकांक्षी नेताहरूले पछि नहट्ने निर्वाचनमा नै जानेमा अडान राखेपछि देव गुरुङ महासचिव पदका लागि अग्रसर बनेका हुन् ।
सहमति जुट्न नसकेपछि प्रचण्डले नै नेता शक्ति बस्नेतलाई बोलाएर दावी किन नगरेको भनेर प्रश्न गरेपछि उनले समेत प्रचण्डको समर्थन आफूले पाउने सम्भावना देखेपछि आफू निकट नेतासँग कुराकानी थालेका थिए । बस्नेतको नाम पनि प्रचण्डकै कारण चर्चामा आएकाले गुरुङलाई पनि प्रचण्डले नै अघि बढाएको अनुमान गरिएको छ ।

यसअघि चर्चामा रहेका नेताहरू माथि दवाव बढाउनकै लागि प्रचण्डले बस्नेत र गुरुङको नाम अघि बढाएको समेत माओवादी वृत्तमा चर्चा रहेको छ । अन्य नेताहरू बिच समझदारी नभएको स्थितिमा प्रचण्डले हस्तक्षेप गरी गुरुङ र बस्नेत मध्ये एकलाई महासचिव बनाउन सक्ने सम्भावना समेत देखिएको छ ।

मुलुकले वर्षौ झेलेको अन्धकारलाई उज्यालोमा परिवर्तन गरेपछि आमनागरिकका बिचमा प्रिय बनेका शर्मालाई रोक्न महासचिवका अन्य दाबेदार सबै लागेकाले शर्माले निर्वाचनको सामना गर्ने पछि नहट्ने बनाउन थालेका छन् । ऊर्जामन्त्री बनेको समयमा युगान्तकारी काम गरेका शर्मा महासचिव हुँदै अर्को महाधिवेशनमा पुगेपछि पार्टी अध्यक्षका लागि तयार बनाउने बाटोमा लागेकाले पनि उनलाई रोक्न अन्य नेताहरू एक बनेको नेताहरुको भनाई छ ।

पार्टीको भावि नेतृत्वमा पुग्ने सपना बोकेका नेताहरू कृष्णबहादुर महरा र पुन  जसरी पनि शर्मालाई रोक्ने उधेष्यमा लागेकाले पनि महासचिव छनौट गर्न प्रचण्डलाई समस्या भएको छ ।

महासचिवका मुख्य दाबेदार मानिएका दुवै नेता शर्मा र पुन परिवारवादमा फसेको र रुकुम अनि कर्णालीभन्दा बाहिर जान नसकेको र पार्टी भित्र गुट बनाएको लगायतका आरोप पार्टी भित्रबाटै लाग्ने गरेको छ । दुई मध्ये एकलाई महासचिव बनाएको अवस्थामा फुटको सामना गर्दै आएका प्रचण्डले फेरि पार्टी फुटको सम्भावना देखेपछि उनीहरुको विकल्पका रुपमा अन्य नेतालाई अघि वढाउन खोजेको माओवादी स्रोतको भनाई छ ।