काठमाडौँ /  डिल्लीबजार कारागारमा रहेका सांसद रेशम चौधरीले नयाँ पार्टी गठन गर्ने भएका छन् ।

चौधरीले आज (सोमबार) श्रीमती रञ्जिता श्रेष्ठको नाममा नागरिक उन्मुक्ति पार्टी गठन गर्ने भएका हुन् । 

OM Sai Pathibhara Hospital

चौधरीको अध्यक्षतामा उक्त पार्टी गठन गर्न लागिएको भए पनि त्यो सम्भव नभएपछि आफ्नो नाममा गठन गर्न लागिएको रञ्जिताले बताइन् । 

उनले भनिन्, –‘उहाँको नाममा पार्टी दर्ता गर्ने योजना छ, उहाँको नाममा नभए मेरो अध्यक्षतामा पार्टी दर्ता हुन्छ ।’ 

नयाँ पार्टी दर्ता गर्न श्रेष्ठसहितको टोली आज भृकुटीमण्डपबाट झाँकीसहित निर्वाचन आयोग जाने एक नेताले बताए । 

चौधरी टीकापुर घटनामा एसएसपी लक्ष्मण न्यौपानेसहितको हत्या आरोपमा जेलमा छन्। उनले जेलबाटै चुनाव उठेर जितेका थिए।

पछि चौधरी राष्ट्रिय जनता पार्टीमा आवद्ध थिए। राष्ट्रिय जनता पार्टी फुटेर लोकतान्त्रिक समाजवादी पार्टी गठन भएपछि चौधरी सोही पार्टीमा थिए।

तर, थरुहट आन्दोलन र बन्दी रिहाबारे सरकार, मधेसी दल कसैले पनि चासो नदेखाएपछि आफैं दल खोल्ने निर्णयमा पुगेका हुन्।

‘ठूला राजनीतिक दल, आफू आवद्ध मधेसवादी दलले पनि कुनै पहल गरेको देखिएन। अब अरूको हातबाट हुन्न, अखण्ड सुदूरपश्चिमको राजनीतिक मुद्दा बन्यो तर थारूको बनेन,’ श्रेष्ठले भनिन्, ‘त्यसैले नयाँ दल स्थापना गरेर थारूहरूको पहिचान बनाउने, अरूको झोला नबोक्ने निष्कर्षका साथ पार्टी गठन गर्न लागिएको हो।’