काठमाडौँ / सहरी विकासमन्त्री रामकुमारी झाँक्री यतिबेला विवादमा तानिएकी छिन् ।

केही दिन यता आफ्नो गृहजिल्ला गुल्मीमा रहेकी झाँक्री यतिबेला ‘पिर्के सलामी’ का कारण विवादमा तानिएकी हुन् ।

OM Sai Pathibhara Hospital

आफू सत्ताबाहिर हुँदा अरुको सलामी प्रति कटाक्ष गर्ने झाँक्रीले आफू मन्त्री हुँदा सलामी खाएको भन्दै उनको सामाजिक सञ्जालमा तीव्र आलोचना भएको छ ।

गुल्मीको मदाने गाउँपालिका–६, पुर्कोट दहस्थित इलाका प्रहरी कार्यालय परिसरमा सलामी लिएको तस्वीर सामाजिक सञ्जालमा भाइरल बनेको छ । नेकपा एकीकृत समाजवादी पार्टीकी सचिवसमेत रहेकी झाँक्री गुल्मीका विभिन्न स्थानमा पुगेर आफ्नो पकड बढाउने प्रयास गरिरहेकी छिन् ।

यो क्षेत्र नेकपा एमालेका सचिव गोकर्ण विष्टको पनि निर्वाचन क्षेत्र हो । यही निर्वाचन क्षेत्रबाट उठ्ने सोच बनाएकी झाँक्रीले पिर्के सलामी लिएको भन्दै विरोध जनाएका छन् ।

झाँक्री चुनावी माहोल बनाउने योजनासहित गुल्मी पुगेकी हुन् ।

चार वर्षअघि चुनावी अभियानकै क्रममा झाँक्रीले पुर्कोट दहका कांग्रेस निकट एक स्थानीय शिक्षकलाई थर्काएकी थिइन् । त्यतिबेला पनि उनको व्यापक विरोध भएको थियो । उनले त्यतिबेला स्थानीय शिक्षक बोमबहादुर कुँवरलाई फोनमा थर्काउँदै खुट्टा भाँच्ने धम्की दिएकी थिइन् ।

चुनावका बेला आफ्नो चरित्र हत्या गर्ने गरी कुँवरले सामाजिक सञ्जालमा स्टाटस लेखेको भन्दै उनी कुँवरमाथि खनिएकी थिइन् ।

यतिबेला सोही ठाउँमा पुगेर उनी फेरि विवादमा तानिएकी हुन् । पुर्कोट दह उनले बाल्यकाल बिताएको ठाउँ पनि हो । उनले पुर्कोट दहकै श्री पृथ्वी उच्च माध्यमिक विद्यालयमा माध्यमिक तहसम्म अध्ययन गरेकी थिइन् ।

आफ्नो गाउँमा आएका बेला प्रहरीले उनलाई पिर्के सलामी गरेको विषयलाई लिएर सामाजिक सञ्जालमा झाँक्रीको व्यापक विरोध भएको छ ।

कतिपय स्थानीयले भने झाँक्री यस क्षेत्रको गौरव भएको भन्दै उनले खाएको सलामीलाई सामान्य लिनुपर्ने बताएका छन् ।

सामाजिक सञ्जाल फेसबुकमार्फत भानुभक्त आचार्यले रामकुमारी झाँक्रीले पिर्के सलामी लिएको विषयमा असहमति जनाएका छन् ।

‘विपक्षी हुँदा जे हुन्न भन्यो, सत्तामा पुगेपछि त्यही दोहोर्‍यायो । राजतन्त्र, प्रजातन्त्र, लोकतन्त्र, गणतन्त्र, जे आए पनि हामी बदलिएका छौँ र’ उनले लेखेका छन् ।

सलामीले किन विरोध भइरहेको छ झाँक्रीको 

झाँक्री आफू मन्त्री हुनुभन्दा पहिले अरुले सलामी लिँदा विरोध जनाएकी थिइन् । यतिसम्म कि, उनले आफ्नै पार्टीका नेताहरूले सलामी खाएको यो कदमको विरोध जनाएकी थिइन् ।

अहिले आफैले सलामी लिएको तस्वीर सार्वजनिक भएपछि उनको चौतर्फी विरोध भएको हो ।