बिर्तामोड / झापा गोल्डकपको पाँचौँ संस्करण फागुन फागुन २१ गतेदेखि ३० गतेसम्म बिर्तामोडको डोमालाल राजवंशी रङ्गशालामा सञ्चालन गर्ने तयारी गरिएको छ । 

OM Sai Pathibhara Hospital
गोल्डकप आयोजक समितिले आइतबार बिर्तामोडमा पत्रकार सम्मेलन गर्दै प्रतियोगिता आयोजनाबारे जानकारी दिएको हो । 

 झापा गोल्डकपको विजेता टोलीले १२ लाख ५५ हजार र दोस्रो हुने टोलीले ६ लाख ५ हजार रुपैयाँ प्राप्त गर्नेछ । त्यस्तै, प्रतियोगिता सर्वोत्कृष्ट खेलाडीलाई एक थान मोटरसाइकल प्रदान गरिनेछ ।

प्रतियोगिताका उत्कृष्ट गोलकिपर, उत्कृष्ट डिफेन्डर, उत्कृष्ट मिडफिल्डर र उत्कृष्ट प्रशिक्षकले समान २१ हजार रुपैयाँ पुरस्कार पाउनेछन् । उच्च गोलकर्तालाई २५ हजार रुपैयाँ दिइने आयोजकले जनाएको छ । त्यस्तै, प्रत्येक खेलको म्यान अफ द म्याचले ९ हजार ९ सय ९९ रुपैयाँ पाउनेछन् ।

प्रतियोगितामा झापा ११ फुटबल क्लबसहित नेपालका ९ र विदेशी एक गरी १० वटा टिमको सहभागिता रहनेछ । प्रतियोगितामा सहभागी हुने स्वदेशी टिमको टुंगो केही दिनमै लगाइने महासचिव गजेन्द्रबहादुर पौडेलले जानकारी दिए ।

अघिल्लो वर्षजस्तै पाँचौँ संस्करणको उद्घाटन समारोहमा झापा जिल्लाका दुईजना पुराना फुटबल खेलाडीलाई १५ हजार रुपैयाँसहित सम्मान गरिने अध्यक्ष बस्नेतले बताए ।


त्यस्तै, यो वर्ष पनि खेल सञ्चालन हुने रङ्गशालाको जग्गादाता डोमालाल राजवंशीको परिवारलाई २५ हजार रुपैयाँ सहयोग प्रदान गरिने भएको छ । प्रतियोगिता सञ्चालनको लागि एक करोड ४० लाख रुपैयाँ लागत अनुमान गरिएको छ ।

यसैबीच, प्रतियोगिता सञ्चालनको लागि विगतको अनुभवलाई मध्यनजर गर्दै महासचिव पौडेलको नेतृत्वमा ५ सदस्यीय सचिवालय गठन गरिएको छ ।

सचिवालय सदस्यहरूमा सञ्चारकर्मी केशव भट्टराई, विशाल नेम्वाङ, नेपाल खेलकुद पत्रकार मञ्च झापाका अध्यक्ष हिमाल खरेल र सहसचिव भूमिका सुब्बा रहेका छन् ।