काठमाडौँ / नेकपा (माओवादी केन्द्र)को जारी आठौं राष्ट्रिय महाधिवेशनबाट आज (शनिबार) विधान पारित हुँदैछ।
विधान मस्यौदामा उठेका जिज्ञासाको जवाफ नेता देवप्रसाद गुरुङले दिएपछि मात्रै पारित गर्ने कार्यसूची रहेको प्रवक्ता कृष्णबहादुर महराले जानकारी दिए।
विधान पारित भएपछि मात्रै नेतृत्व चयनको विषयले प्राथमिकता पाउँछ। माओवादीले १५ सदस्यीय पदाधिकारी र २९९ सदस्यीय केन्द्रीय समिति निर्वाचित गर्ने प्रस्ताव गरेको छ।
माओवादीले बहुपदीय अवधारणा अगाडि सारेको छ। सोही अवधारणाका आधारमा नेतृत्व चयन गर्ने तयारी गरेको छ।
क्लस्टर अनुसार प्रदेशबाट केन्द्रीय सदस्यका लागि नाम माग गरेका छन्। ३५ प्रतिशत महिला र ४० प्रतिशत युवा समेटेर केन्द्रीय सदस्यको माग गरेका छन्।
उनीहरूले नाम दिएपछि चयन प्रक्रिया अघि बढ्छ। केन्द्रीय सदस्यको टुंगो लागिसकेपछि पदाधिकारी चयन प्रक्रिया अगाडि बढ्नेछ।
हालसम्म अन्य नेताले अध्यक्षमा दावी गरेका छैनन्, त्यसैले अध्यक्षमा प्रचण्ड नै दोहोरिने पक्कापक्की छ।
वरिष्ठ नेतालाई उपाध्यक्षमा समेट्न लागिएको छ। यस्तै, वरिष्ठ उपाध्यक्षमा नारायणकाजी श्रेष्ठको बलियो सम्भावना छ।
महासचिवमा पनि विभिन्न नेताहरूले दावी गरेका छन्। यस्तै, दुई उपमहासचिव, सचिव र कोषाध्यक्ष समेतमा विभिन्न वर्ग, क्षेत्र मिलाएर निर्वाचन गर्ने तयारी गरिएको छ।






































