काठमाडौँ / काठमाडौँको कमलादीस्थित प्रज्ञा भवनमा चलिरहेको नेकपा (माओवादी केन्द्र)को आठौँ महाधिवेशनमा पार्टीका नेता तथा कार्यकर्ताहरूले अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’को आलोचना गरिरहेका छन् ।

पार्टीका नेता तथा कार्यकर्ताहरूले महाधिवेशनमा प्रचण्डले ल्याएको प्रतिवेदन देखि उनको निजी जीवनशैलीमाथि कडा प्रश्न र आलोचना गरेका हुन् । 

OM Sai Pathibhara Hospital

यहाँसम्मकी उनी ठेकेदारको घरमा बसेको कुराको समेत नेता तथा कार्यकर्ताहरूले खुलेर आलोचना गरेका छन् भने केन्द्रीय सदस्य राम कार्की र लेखनाथ न्यौपानेले त आलोचनासहितको फरक मत नै दर्ता गराएका छन् । 

प्रचण्ड बस्ने निवासको बारेमा समेत थुप्रै माओवादी कार्यकर्ताहरूले प्रश्न उठाएका छन्। विवादित ठेकेदार शारदाप्रसाद अधिकारीको खुमलटारस्थित आलिसान महल छोड्न प्रचण्डलाई दबाब दिएका छन्।

माओवादी केन्द्रीय सदस्य देवेन्द्र पराजुली लगायतले प्रचण्डका लागि आठ लाख कार्यकर्ता मिलेर सुविधा सम्पन्न घर बनाइदिने समेत प्रस्ताव गरे।

माओवादी कार्यकर्ताहरूले सँगै युद्ध लडेका प्रचण्डसहितका नेताहरूको विलासी जीवन र आर्थिक स्रोतको दुरुपयोगबारे समेत कडा आलोचना गरेका छन्। 

३० वर्षदेखि पार्टीको नेतृत्व गरिरहेका प्रचण्डसँग कुनै नेताहरूले आठौँ महाधिवेशनमा पनि प्रतिस्पर्धा गर्न खासै कसैले चासो देखाएका छैनन् ।

तर, कर्णाली प्रदेशकी अध्यक्ष विमला केसीले कार्यकारी पदमा एउटै व्यक्ति दुई कार्यकालभन्दा बढी बस्न नपाउने गरी विधान संशोधन गर्न माग गरेकी छिन्।

प्रचण्डले अब आफू र आफ्नो टिममाथि उठेका यस्ता थुप्रै प्रश्नको उनले जवाफ दिनु पर्नेछ। यसका लागि उनले ठोस योजना पेस गर्नुपर्ने कार्यकर्ताको दबाब छ।