काठमाडौं  / एसियन सिनियर सेन्ट्रल जोन महिला भलिबल च्यालेन्ज कपको उपाधि विजेता नेपाली टोलीलाई सरकारले नगदसहित सम्मान गर्ने भएको छ ।

विजेता टोलीलाई स्वागत गर्न बिहीबार त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल पुगेका युवा तथा खेलकुद मन्त्री महेशजङ्ग गहतराजले सेन्ट्रल जोन विजेता महिला खेलाडी, प्रशिक्षक र अफिसियललाई नगद पुरस्कारले सम्मान गरिने जानकारी दिए । 

OM Sai Pathibhara Hospital

बुधबार बसेको मन्त्रिपरिषद् बैठकले उपाधि विजेता १२ जना खेलाडीलाई जनही ५–५ लाख, २ जना प्रशिक्षकलाई जनही ३ लाख र १ जना अफिसियललाई २ लाख नगदसहित सम्मान गर्ने निर्णय गरेको उनले बताए ।

नेपाली टोलीको जितले देशको शीर उच्च र सबै नेपालीको छाती फराकिलो बनाएको भन्दै मन्त्री गहतराजले खुसी व्यक्त गरे । 

उनले भने, ‘तपाईंहरुले देशको शान र मानलाई अन्तर्राष्ट्रिय क्षेत्रमा नेपाल छ है भनेर नयाँ ढंगले स्थापित गराउनुभएको छ, सरकारको तर्फबाट र मेरो तर्फबाट धेरै धेरै बधाई र सम्मान व्यक्त गर्नु चाहन्छु ।’

पदक जित्नु भनेको जिम्मेवारी अझ बढ्नु भएको भन्दै उनले सोही अनुसार अगाडि बढ्न टोलीलाई आग्रह समेत गरेका छन् । 

मंगलबार उज्वेकिस्तानलाई ३–२ को सेटमा हराउँदै नेपाली महिला टोली च्याम्पियन बनेको थियो । नेपाल लगातार दोस्रो पटक च्याम्पियन बनेको हो । 

पुरुषतर्फ भने नेपाल चौंथो स्थानमा रह्यो। तेस्रो स्थानका लागि भएको खेलमा नेपाल उज्वेकिस्तानसँग ३–० को सेटमा पराजित भएको थियो । पुरुष टोली पनि आजै स्वदेश फर्किएको छ ।