काठमाडौँ / नेकपा (माओवादी केन्द्र)को जारी महाधिवेशन अन्तर्गत बन्दसत्रमा नेताहरूको जीवनशैलीमा परिवर्तन आएको भन्दै सम्पत्ति छानबिनको माग भएको छ । 

मंगलबार बन्दसत्रमा अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले प्रतिवेदन पेस गरेका थिए । प्रतिवेदनमाथि छलफल सकिए लगत्तै केही टोली नेताले सम्पत्ति छानबिनको माग गरेका हुन् । 

OM Sai Pathibhara Hospital

माओवादीमा २५ समूह बनाएर प्रतिवेदनमाथि छलफल भइरहेको छ । जसमध्ये बुधबार बन्दसत्रमा ११ समूहको तर्फबाट ब्रिफिङ सकिएको छ भने, आज १४ समूहले छलफलको निष्कर्ष प्रस्तुत गर्नेछन् । 

आफ्नो समूहमा छलफल गरेर सुझाव दिएका मध्ये प्रदेश नम्बर २ बाट सत्यनारायण भगत, कर्णाली प्रदेशबाट विमला केसी, गण्डकी प्रदेशबाट गायत्री गुरुङलगायतले नेताहरूको सम्पत्ति छानबिन र सार्वजनिक गर्न माग गरेका हुन् । 

भगतले जनयुद्ध गरेर आएका नेताहरूको जीवनशैलीमा आएको परिवर्तन र सम्पत्ति वृद्धिको बारेमा टिप्पणी हुने गरेको भन्दै छानबिन गर्नुपर्ने निष्कर्ष सुनाएका थिए । 

त्यस्तै गुरुङले पनि आफ्नो समूहमा नेताहरूको सम्पत्ति छानबिन र सार्वजनिक गर्न आवश्यक रहेको छलफलका क्रममा उठेको भन्दै यसबारे गम्भिर हुन जाँच गर्न सुझाव दिइन् । 

उनको समूहबाट एक व्यक्ति दुई पटकभन्दा बढी लाभका पदमा जान नपाउने व्यवस्था देखि एकै परिवारका दुई जनालाई लाभको पदमा नपठाउने सम्मको सुझाव आएको थियो । 

यसैगरी केसीले पेस गरेको सुझावमा पनि नेताहरूको सम्पत्ति सार्वजनिक गर्न माग गरिएको छ ।